हिमालयन रि इन्स्योरेन्सका सिईओ उपसना पौडेल सहित ५ जना व्यवस्थापकलाई बर्खास्तको तयारी ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडका व्यवस्थापकहरु निलम्बन गर्ने प्रक्रिया अघि बढाएको छ । बीमा प्राधिकरणले कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपसना पौडेल सहित सबै व्यवस्थापक बर्खास्तीको प्रक्रिया अघि बढाएको बुझिएको छ।
प्राधिकरणले इन्स्योरेन्स कम्पनीका सिईओ उपसना पौडेल सहित डेपुटी सिइओ मुकेश कुमार कपुर, कार्यकारी निर्देशकहरु मनिश कुमार, शिशिर गैह्रे र सन्तोष केसीलाई निलम्बन किन नगर्नु पर्ने हो ? भन्दै स्पष्टीकरणको पत्र काटेको छ। हिमालयन रि–इन्स्योरेन्स कम्पनीको २ अर्ब ७३ करोड रुपैयाँ अपचलन काण्डमा मुछिएपछि प्राधिकरणले उनीहरुलाई बर्खास्तीका लागि स्पष्टीकरण सहितको प्रक्रिया अघि बढाएको छ।
प्राधिकरणले गत चैत महिनामै किन बर्खास्त नगर्ने भन्दै सबै व्यवस्थापकहरुलाई ७ दिने स्पष्टीकरण सोधेको थियो । सो स्पष्टिकरणको जवाफ कुनै पनि व्यवस्थापकले पठाएका छैनन् । सिईओ उपासना पौडेल बिरामी बिदा लिएर उपचारका नाममा भारतमा रहेको चर्चा छन् ।
उनी उपचारको बहाना गरेर कानुनी कारवाहीबाट बच्न भारत भागेको बताइएको छ। उनको स्पष्टिकरण सात दिने समयभित्र नआएपनि प्राधिकरणले बर्खास्त गर्न अर्को कानुनी प्रकृयाको पत्र तयार गरेको छ ।
‘तपाईलाई किन बर्खास्त नगर्ने ? नगर्नु पर्ने कुनै कारण भए एक हप्ताभित्र कारणसहित स्पष्टीकरण पेश गर्नु भनेर प्राधिकरणले पत्र लेखेको बुझिन आएको छ । बर्खास्त गर्नु अघि त्यसको प्रक्रिया पुर्याउनुपर्ने भएकाले स्पष्टीकरण सोधिएको र सात दिन कटेपछि उनीहरुलाई निलम्बन गरिने प्राधिकरणको उच्च प्रशासनिक स्रोतले बताएको छ ।
हिमालयन रि–इन्स्योरेन्सका ठूला संचालकहरु दिपक भट्ट, शाहिल अग्रवाल सुलभ अग्रवाल, शेखर गोल्छा लगायतका व्यक्तिहरूलाई अहिले सम्पति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धानमा तानिएका छन् ।
ती मध्ये साहिल अग्रवाललाई पक्राउ गरि आवश्यक छानवीन अनुसन्धान भैरहेको छ। हिमालयन रि–इन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँ दिपक भट्टको नाममा दोस्रो बजारमा सेयर खरिद गर्न प्रयोग भएको विभागको अनुसन्धानबाट खुलेको छ ।
कम्पनीको ठूलो रकम अवैध तरिकाबाट प्रयोग भएको भन्दै व्यवस्थापकलाई निलम्बन गरिएको छ । सम्पति शुद्धिकरण अनुसन्धान विभागले छानवीन अनुसन्धान सुरु गरेपछि कम्पनीका निवर्तमान अध्यक्ष शेखर गोल्छाले फागुन २८ मा राजिनामा दिएका थिए ।
केहि दिनअघि सम्पति शुद्धिकरण अनुसन्धान विभागले कम्पनीमा छापा मारेको थियो । बीमा प्राधिकरणले पनि कम्पनीमा छापा मारेर केही कागजात लगेको थियो ।
बीमा ऐन बमोजिम कम्पनीका ठूला सेयरधनी सम्पति शुद्धिकरण प्रकरणमा मुछिएपछि यो रि–इन्स्योरेन्स कम्पनीलाई समस्या ग्रस्त घोषणा गर्नुपर्ने कानुनी प्रावधान छ । यस विषयमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष तथा नेपाल सकारका सचिव चन्द्रकला पौडेलले अर्थमन्त्री डा।स्वर्णिम वाग्लेसँग छलफल गरिसकेकी छिन।

























