कात्तिक ७ देखि विदेशी च्यानल विज्ञापनरहित नबनाए सरकारले कारबाही गर्ने
काठमाडौं । सरकारले कात्तिक ७ गतेदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न निर्देशन दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विज्ञापन (नियमन गर्ने) ऐनको व्यवस्था अनुसार कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने बताएको हो । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।
ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको मितिले १ वर्षभित्र अर्थात २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यता, इन्डियन ब्रोडकास्टिङ फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ लगायतले विज्ञापनरहित प्रसारणको म्याद थप गर्न माग गरिएको विषयमा पनि मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

























