citizens life insurance long ad
stcnepal long ad

शुक्रबारदेखि सबै इन्टरनेट सेवा प्रदायकको नेटवर्कमा टिकटक खुले

भिडियो प्ल्याटफर्म टिकटकले नेपालमा दर्ता गर्ने प्रतिबद्धता जनाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । भिडियो प्ल्याटफर्म टिकटकले नेपालमा दर्ता गर्ने प्रतिबद्धता जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र टिकटकका प्रतिनिधिबिच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्तामा आधिकारिक रूपमा दर्ता गर्ने प्रस्ट पारेको हो ।

टिकटकले नेपाल सरकारका सबै सर्त मान्ने प्रतिबद्धता जनाएपछि शुक्रबारदेखि सबै इन्टरनेट सेवा प्रदायकको नेटवर्कमा टिकटक खुलेको छ ।

भदौ ६ गतेको मन्त्रीपरिषद् बैठकले सरकारले जारी गरेका सबै सर्त मान्न तयार भएपछि ससर्त टिकटक खुलाउने निर्णय गरेको थियो ।

सञ्चारमन्त्रीको सचिवालयका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका बमोजिम सामाजिक सञ्जाल टिकटक मन्त्रालयमा सूचीकरण गर्ने र टिकटकको नेपालभित्र सम्पर्कविन्दुको व्यवस्था गर्ने समझदारी भएको छ ।

सञ्चारमन्त्री गुरुङ र टिकट प्रतिनिधिबिच नेपालको पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने, सामाजिक सञ्जाल प्रयोगका सन्दर्भमा देशभर इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने, शिक्षण संस्थामा शैक्षिक गुणस्तर सुधार गर्ने गरी डिजिटल सहयोग कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।

नेपाली भाषा तथा अन्य राष्ट्र भाषाको स्रोत परिचालन गरी विषयवस्तु फिल्टरिङ एवं मोडरेसनलाई प्रभावकारी बनाउने, सामाजिक सद्भाव बिगार्ने तथा अश्लीलता फैलाउने विषयवस्तु हटाउन सहयोग गर्ने र विद्युतीय अपराध नियन्त्रणमा सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ ।

मन्त्री गुरुङको प्रस्टोक्ति

सञ्चारमन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारशीला र लोकतन्त्रको प्राणवायु भएको बताउनुभयो । सचिवालय मार्फत शुक्रबार जारी प्रेसनोटमा सामाजिक सञ्जालको विकास, विस्तार र बढ्दो पहुँचले स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्न सहज हुने र मौलिक अधिकारलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

उहाँले टिकटकले नागरिकलाई आफ्नो विचार राख्ने, सार्वजनिक बहस गर्ने, रचनात्मक बन्ने, साना तथा मझौला उद्यम तथा व्यवसाय प्रवर्धन गर्ने र मनोरञ्जन गर्ने महत्वपूर्ण मञ्च दिएको बताउनुभयो ।

टिकटक लगायत अरू सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउँदा नागरिकको अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासमा खलल हुने उल्लेख गर्दै उहाँले प्रतिबन्धलाई निरन्तरता दिएर अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने पक्षमा सरकार नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले टिकटक प्रतिबन्ध लगाउँदा साना र मझौला उद्यम तथा व्यवसाय प्रवर्धन गर्ने कार्य रोकिँदा व्यवसायी मारमा परेको र इन्टरनेट प्रदायक सञ्चार कम्पनीको आम्दानीमा असर पुगेको बताउनुभएको छ ।

प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै मन्त्रीपरिषद्को निर्णय अनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।

IME Life
kumari