जनकपुर चुरोट कारखाना सरकारले पुनः सञ्चालनमा ल्याउने
काठमाडौं । बन्द रहेको जनकपुर चुरोट कारखाना सरकारले पुनः सञ्चालनमा ल्याउने भएको छ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै बन्द रहेको जनकपुर चुरोट कारखाना सहित विराटनगर जुटमिल, वीरगञ्जको चिनी मिल, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, हेटौंडा कपडा उद्योग र बुटवल धागो उद्योग उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने बताए।
उनले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूका लागि हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाको पोशाक प्रयोग गर्ने व्यवस्था मिलाइने जानकारी दिए।
घाटामा सञ्चालित सार्वजनिक संस्थानहरूको संस्थागत सुशासनलाई सुदृढीकरण गरी वित्तीय क्षमता सवलीकरण गर्न कम्पनी मोडल अवलम्बन गरिने शर्माले बताएका छन्।
जनकपुर चुरोट कारखाना परिसर अहिले मधेश सरकारको मन्त्रालय र आवासको लागि व्यवस्थापन गरी मधेश भवन नामकरण गरी प्रयोगमा छ।























