चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता
काठमाडौ । बीस लाख उधमी व्यवसायीहरूको एक मात्र छाता सगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा आज प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकाल सहित उहाँको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनु भएको छ । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।
गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।
पछि पटक–पटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन नसकि स्थगित हुन पुगेको थियो ।
गत वर्षको मंसिरमा गृह जिल्ला बागलुङ्गमा आयोजित बागलुङ्ग महोत्सवमा बागलुङ्ग उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवार प्रस्ताव गरेको थियो ।
पछि फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम मार्फत ढकालले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो ।
त्यस्तै गत असारमा ढकाल सहित सबै उपाध्यक्षहरुले सामुहिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो ।
उम्मेदवारी दर्तापछि बोल्दै ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
ढकालले अहिलेको जटिल परिस्थिथिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्वको आवश्यकता रहेको बताउँदै आफ्नो समूह मात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुनसक्ने दावी गर्नुभयो ।
“देश कोभिड–१९ को महामारीको चपेटामा परेको छ । अर्थतन्त्रका सबैजसो अवयवहरु क्षतविक्षत भएका छन् । व्यवसाय र व्यवसायी दुवै संकटमा परेका छन् ।
यो अहिलेको जटिल परिस्थितिमा व्यवसाय र व्यवसायीलाई जोगाउन सकिएन भने यसले मुलुकको अर्थतन्त्र र विकासमा समेत दीर्घकालिन रुपमा प्रभाव पर्छ । व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन र मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउन हामीले उम्मेदवारी दिएका छौं,” ढकालले बताउनुभयो ।
ढकालले मुलुकभर भएको व्यवसायिक सञ्जाल, साना देखि ठूला व्यवसायसम्मको अनुभव, व्यवसायी मित्रहरुसँगको सुमधुर सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क नै आफ्नो जीतको मुख्य आधार भएको बताउनुभयो ।
त्यस्तै उहाँले राज्य र व्यवसायी बिचको सम्बन्ध सुधार गर्दै मुलुकमा व्यवसायिक वातावरण बनाउन आफूहरुले भूमिका निर्वाह गर्ने बताउनुभयो ।
ढकालले आफ्नो समूहले महासंघलाई ठूला र साना सबै उद्योगी व्यापारीको साझा चौतारीका रुपमा स्थापित गर्ने र सबैका समस्या र गुनासा सुनुवाई हुने वातावरण बनाउने बताउनुभयो ।
“महासंघलाई साना, मझौला र ठूला सबै व्यवसायीको साझा चौतारीका रुपमा स्थापित गर्न, खास गरेर जिल्ला नगरका साना व्यवसायीका समस्या समाधान गर्न, मुलुकमा लगानीमैत्री वातावरण बनाई बैदेशिक लगानी भित्र्याउन हाम्रो प्यानलले अहम भूमिका निर्वाह गर्न सक्छ,” उहाँले भन्नुभयो, “यसका लागि सबै व्यवसाय र व्यवसायीको प्रतिनिधित्व हुनेगरी हामीले प्यालन बनाएका छौं ।”
वस्तुगत संघतर्फका उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले महासंघको नेतृत्वमा व्यवसायिक व्यक्ति तथा स्टेकहोल्डर आएमात्र त्यसले निजी क्षेत्रका व्यवसायीहरुको वास्तविक प्रतिनिधित्व हुने बताउँदै सरकार तथा अन्य सरोकारवाला निकायहरुमा व्यवसायीका समस्याहरु र व्यवसायका विषयवस्तुहरु उठान गर्न, व्यवसायी मैत्री कानुन, नीति, नियमका लागि पैरवी गर्न र सम्बन्धित निकायले पनि सुन्ने अवस्था बनाउन आफ्नो टिम मात्र सक्षम रहेको बताउनुभयो ।
“यदि नेतृत्वमा हामीले वास्तविक व्यवसायीलाई नै पुरयाउन सकिएन भने हाम्रो आवाज पनि सुनिदैन र समस्याहरुको समाधान पनि मिल्दैन ।
त्यसैले एउटा व्यवसायीको हिसाबले, सानादेखि ठूला सबै व्यवसायीको साझा प्रतिनिधिका हिसाबले हामीले प्यालन बनाएका छौं र सबै साथीहरुको भावना र चाहाना समेटेका छौं,” उहाँले बताउनुभयो ।
जिल्ला नगर उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीले साना तथा मझौला व्यवसाय नै मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै महासंघमा पनि साना तथा मझौला व्यवसायीको प्रतिनिधित्व सुनिस्चित गर्नका लागि चन्द्र ढकालको समूहलाई व्यवसायीहरुले रोजेको बताउनुभयो ।
उहाँले महासंघलाई सबै उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न र सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउन आफूहरुले पहल गर्ने बताउनुभयो ।
एशोशियटतर्फका उम्मेदवार रामचन्द्र संघाईले आफु निर्वाचित भएपछि निजी व्यवसायिक प्रतिष्ठानहरुले भोगेका समस्या समाधानमा विशेष ध्यान दिने बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा उत्पादनमूलक उद्योगलाई बढवा दिने, आन्तरिक रोजगारी सृजना गर्ने र, रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधारमा काम गर्ने बताउनुभयो ।
ढकाल समूहबाट उपाध्यक्षका सबै उम्मेदवारहरुले आजै उम्मेदवारी दिनुभएको छ । जिल्ला नगरतर्फबाट उपाध्यक्षका उम्मेदवार तिवारीले भने भर्चुअल माध्यमबाट उम्मेदवारी दर्ता गर्नुभएको हो । ढकाल समूहबाट कार्यसमिति सदस्यका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको ढकाल समूहले बताएको छ ।
केही सदस्यहरुले उम्मेदवारी दर्ता गरिसक्नु भएको छ । केही काठमाडौंमा उपलब्ध भएकोले यहीं उपस्थित भएर उम्मेदवारी दर्ता गर्नेछन भने केहीले भर्चुअल माध्यमबाट पनि उम्मेदवारी दर्ता गर्नेछन।

























