नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक पदमा नियुक्त गरेको छ ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सचिवालयमा बुधबार उनलाई २०८३ असोज १ गते देखि लागु हुनगरि नियुक्त पत्र प्रदान गरेका छन् । अध्यक्ष श्रेष्ठले डा. तिवारीको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक दक्षता र निजी क्षेत्रको वकालतसम्बन्धी व्यावहारिक अनुभव एक महत्त्वपूर्ण मोडमा महासंघमा जोडिएको बताए ।
यो नियुक्तिसँगै महासंघमा डा. तिवारीको पुनरागमन भएको छ । यसअघि उहाँले सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकका रूपमा सचिवालयको नेतृत्व सम्हालेका थिए ।
डा. तिवारीको व्यावसायिक यात्रा प्रमुख बहुपक्षीय संस्थाहरू तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग समेत जोडिएको छ ।
तिवारीले यसअघि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को महानिर्देशक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वरिष्ठ प्राविधिक विज्ञ र नेपाल–जर्मन उद्योग वाणिज्य संघमा रणनीतिक सल्लाहकारका रूपमा काम गरिसक्नु भएको छ ।
निजी क्षेत्रको व्यावसायिक वातावरण सुधार विषयमा अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. तिवारीका व्यापार कूटनीति र औद्योगिक विकाससम्बन्धी विभिन्न अनुसन्धानमूलक पुस्तकहरू समेत प्रकाशित छन् ।























