मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघपछि सबै भन्दा बलियो संगठन मानिने मोरङ उद्योग व्यापार संघको ६७ औं वार्षिक साधारण सभाले उद्योगी अनुपम राठीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
हिजो वैशाख २४ गते मोरङ उद्योग व्यापार संघको ३४ औं कार्यसमिति सदस्यहरूको निर्वाचन निर्विरोध रुपमा सम्पन्न भएको थियो । अध्यक्षमा निर्विरोध निर्वाचित युवा उद्योगी एवं व्यवसायी राठी प्रतिष्ठित ुएके राठी ग्रूपुका तेस्रो पुस्ताका उत्तराधिकारी हुन ।
बैशाख २४ गते सम्पन्न साधारण सभामा संघको विधान र नियमावली अनुसार वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना गरि १६ जना सदस्यको निर्वाचन गर्नुपर्नेमा त्यही संख्याको मात्र उम्मेदवारी दर्ता हुन गएपछि सोही उम्मेदवारहरू संघको ३४ औं कार्य समितिका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
सो निर्वाचनबाट वाणिज्य क्षेत्रतर्फ अनिल कुमार साह, संजयकुमार श्रेष्ठ, शुशील सुराना, विवेक अग्रवाल, मनिषकुमार मारु, अनिल सारडा, राजेशकुमार अग्रवाल र दीपेश सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै उद्योग क्षेत्रतर्फ देवाशिष गोल्छा, विनित सिंघानिया, अमित कुमार शारडा, अनुपम राठी, अमित राठी, आशिष जाजु, पवन राठी, विकास कुमार बेगवानी निर्विरोध निर्वाचित भएका छन् ।
संघको नवगठित ३४ औं कार्यसमितिको बैशाख २४ गते बसेको बैठकले पदाधिकारीहरुको समेत सर्वसम्मत चयन गरेको छ ।
संघको ३४ औं कार्यसमितिको अध्यक्षमा अनुपम राठी, वरिष्ठ उपाध्यक्षमा अनिल कुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा विकास कुमार बेगवानी, महासचिवमा संजय कुमार श्रेष्ठ, सचिवमा अमित कुमार शारदा, कोषाध्यक्षमा राजेश कुमार अग्रवाल तथा प्रवक्ताका रुपमा दीपेश सुवेदीलाई चयन गरिएको थियो ।
साथै, बैठकमा संघको नियम बमोजिम सम्बद्ध क्षेत्र (वस्तुगत) तर्फबाट गोपाल अग्रवाल र ओम प्रकाश शर्मा, संघका शाखाहरू तर्फबाट कृष्ण प्रसाद रिजाल र नवनिर्वाचित अध्यक्षबाट श्रीमती वन्दना जैन र धीरज मोहतालाई मनोनयन गरी २१ सदस्यीय कार्यसमिति गठन भएको छ ।
संघको नियम बमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल सो समितिको पदेन सल्लाहकार रहने भएका छन् ।
त्यसका अतिरिक्त, ३४ औं कार्यसमितिले विनोद बोहरा, डा. दीपेन्द्र नौलखा, पंकज गोयल र संजीव श्रेष्ठलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गरेको छ।
साथै संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रीमती श्रुती शर्मालाई मनोनयन गरिएको मोरङ उद्योग व्यापार संघले जनाएको छ ।