पहिलो दिनमै सगरमाथा जलविद्युतको आइपीओमा ३४ लाख कित्ताका लागि आवेदन
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा ३४ करोड ३६ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार पहिलो दिन अर्थात बुधबार चैत ८ गते साँझ सम्ममा ३ लाख १ हजार ८३६ जना सर्वसाधारण आवेदकले ३४ लाख ३६ हजार १४० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको छ ।
यसमध्ये १० प्रतिशत (४ लाख ३६ हजार ८ सय कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३ प्रतिशत (१ लाख ३१ हजार ४० कित्ता) सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।
बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर बुधबार चैत ८ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । यसमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले सगरमाथा जलविद्युतलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।
जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ । इक्रा नेपालले २०७९ असार १ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० जेठ ३० गतेसम्म बाहल रहनेछ ।




















