१० जलविद्युत् कम्पनीको आईपीओ आउँदै

आर्थिक सञ्जाल सोमबार, २६ फागुन २०७६
काठमाडौँ । जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण घटिरहेका बेला करिब एक दर्जन जलविद्युत् कम्पनीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउँदै छ । ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेका छन् ।
बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउनेछन्। बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।
हाल विभिन्न क्षेत्रका १४ कम्पनीको प्राथमिक तथा थप निष्कासन (आईपीओ र एफपीओ) बजारमा आउँदै छ। तीमध्ये १० वटा जलविद्युत् कम्पनी छन्। बाँकी ४ वटामध्ये लघुवित्त, बिमा, अन्य र मर्चेन्ट बैंकिङ क्षेत्रका कम्पनी छन्। हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका कम्पनीमध्ये प्रायः जलविद्युत्ले स्थानीयवासी र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका हन्।
बोर्डको तथ्यांकअनुसार हालसम्म विभिन्न क्षेत्रका १४ कम्पनीले ४ अर्ब ५१ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको ४ करोड ५१ लाख २२ हजार ५ सय ५० कित्ता सेयर निष्कासन गर्दै छन्। आजको कान्तिपुर दैनिकबाट