भिजन लुम्बिनी उर्जाको आइपीओ आज बाँडफाँट हुँदै

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ आज मंगलबार (मंसिर ५ गते) बाँडफाँट हुँदैछ ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार मंगलबार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ ।
यता, भिजन लुम्बिनीको आइपीओ हात पार्न भने भाग्यकै भर पर्नु पर्ने भएको छ । किनभने यसमा मागभन्दा ६.५४ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
यसमा ११ लाख ९४ हजार ८२० जनाले कुल १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा २ लाख ७ हजार ५२८ जनाले मात्र सेयर हात पार्नेछन् ।
बाँकी ९ लाख ८७ हजार २९२ जनाको भने हात खाली हुनेछ । यस कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
यस कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो ।
रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यो आइपीओलाई ‘आइआरएन डबल बी माइनस इस्यूआर’ रेटिङ प्रदान गरेको छ ।
जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । इन्फोमेरिक्सले २०७९ पुस २९ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० पुस २८ गतेसम्म बाहल रहनेछ ।
५ मंसिर २०८०, मंगलवार ०६:५८ बजे प्रकाशित