stcnepal long ad
global ime bank long

राष्ट्रपतिद्वारा २६ बैशाखबाट संसद अधिवेशन आह्वान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २२ गते सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले आगामी शुक्रबार वैशाख २६ गते अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारले गरेको सिफारिसको केही घण्टामै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन् ।

संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । कोरोनाभाइरसको संत्रासका कारण सामाजिक दूरी कायम गरी संसद बस्ने व्यवस्था सरकारले मिलाएको छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट पेश गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । यसैबीच, जेठ १५ बजेट ल्याउनुपर्ने कानुनी प्रावधान भएकाले अर्थ मन्त्रालय भने बजेट निर्माणमा जुटिरहेको छ ।

कोरोनाका कारण यसबाट बजेटको प्राथमिकता परिवर्तन हुने राष्ट्रिय योजना आयोगले बताइसकेको छ । विशेष गरी राहत पुग्ने कार्यक्रम ल्याउनुपर्नेछ । स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत क्षेत्रमा व्यापक मात्रामा बजेट विनियोजन गर्नुपर्ने अवस्था छ ।

एकातिर राष्ट्रिय महत्वका परियोजनालाई निरन्तरता दिनुपर्ने बाध्यता छ भने अर्कोतिर कोरोनाका कारण शिथिल भएका उद्योगप्रतिष्ठान बचाउनुपर्ने अवस्था पनि छ ।

राज्यले करको भार बढाउन सक्ने अवस्था पनि छैन । राजश्व घट्ने निश्चित भएको छ । यसर्थ, स्रोतको कमी हुने संकेतका बीचमा राहत पुग्ने गरी विस्तारकारी बजेट ल्याउनुपर्ने अवस्था छ । किन भने विस्तारमुखी बजेट नआएमा कोरोनाबाट शिथिल बनेको अर्थतन्त्रलाई गति दिन गाह्रो हुनेछ । बजारमा आर्थिक गतिविधि र मुद्रा प्रदाय बढाउन नसके शिथिल अर्थतन्त्रमा गतिशीलता ल्याउन समस्या पर्ने अवस्था छ । निजी क्षेत्रले पनि विस्तारकारी बजेट ल्याउन माग गरिरहेको छ ।

 

 

IME Lifesidebar
kumari