राष्ट्रपतिद्वारा २६ बैशाखबाट संसद अधिवेशन आह्वान

आर्थिक सञ्जाल २०७७ वैशाख २२ गते सोमबार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले आगामी शुक्रबार वैशाख २६ गते अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारले गरेको सिफारिसको केही घण्टामै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन् ।
संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । कोरोनाभाइरसको संत्रासका कारण सामाजिक दूरी कायम गरी संसद बस्ने व्यवस्था सरकारले मिलाएको छ ।
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट पेश गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । यसैबीच, जेठ १५ बजेट ल्याउनुपर्ने कानुनी प्रावधान भएकाले अर्थ मन्त्रालय भने बजेट निर्माणमा जुटिरहेको छ ।
एकातिर राष्ट्रिय महत्वका परियोजनालाई निरन्तरता दिनुपर्ने बाध्यता छ भने अर्कोतिर कोरोनाका कारण शिथिल भएका उद्योगप्रतिष्ठान बचाउनुपर्ने अवस्था पनि छ ।
राज्यले करको भार बढाउन सक्ने अवस्था पनि छैन । राजश्व घट्ने निश्चित भएको छ । यसर्थ, स्रोतको कमी हुने संकेतका बीचमा राहत पुग्ने गरी विस्तारकारी बजेट ल्याउनुपर्ने अवस्था छ । किन भने विस्तारमुखी बजेट नआएमा कोरोनाबाट शिथिल बनेको अर्थतन्त्रलाई गति दिन गाह्रो हुनेछ । बजारमा आर्थिक गतिविधि र मुद्रा प्रदाय बढाउन नसके शिथिल अर्थतन्त्रमा गतिशीलता ल्याउन समस्या पर्ने अवस्था छ । निजी क्षेत्रले पनि विस्तारकारी बजेट ल्याउन माग गरिरहेको छ ।