citizens life insurance long ad
stcnepal long ad

सेबोनको अध्यक्ष पदमा पुनः दरखास्त आह्वान

लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि अर्थ मन्त्रालय र सिफारिस समितिबीच तालमेल नमिल्दा ढिलाइ भइरहेको छ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा सरकारले पुनः दरखास्त आह्वान गरेको छ। अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशित गर्दै पुनः धितोपत्र बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान गरेको हो। योसँगै यसअघि खुलाइएको दरखास्त र परेका आवेदन स्वतः खारेज भएको छ।

लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि अर्थ मन्त्रालय र सिफारिस समितिबीच तालमेल नमिल्दा ढिलाइ भइरहेको छ।

यसअघि अर्थ मन्त्रालयले सेबोनमा अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पोडेल, अर्थ सचिव मधु मरासिनी र विज्ञ सदस्यका रुपमा प्रा. डा. नारायणप्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको थियो।

तर, धितोपत्र सम्बन्धी ऐनमा छनोट समिति नेपाल सरकारले बनाउनु पर्ने उल्लेख गरिएको छ। सोही कारण अर्थ मन्त्रालयले बनाएको र मन्त्रीस्तरीय निर्णयलाई नेपाल सरकारको निर्णय भन्न नमिल्ने भन्दै सुरुदेखि समिति गठनका विषयमा कानुनी विवाद हुँदै आएको थियो।

अर्थ मन्त्रीलाई अर्थ मन्त्रालयका सहसचिव र सचिवले घुमाएका कारण पुन दरखास्त आवह्रान गर्नु परेको छ।

सरकारले अहिले पुनः डा. विश्व पौडेलकै संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। सोही समितिले पुनः दरखास्त आह्वान गरेको छ।

यसअघि गत कात्तिक १५ गते धितोपत्र बोर्डको अध्यक्ष पदमा दरखास्त खुलाइएको थियो। त्यतिबेला १२ जनाले दरखास्त पेस गरेका छन्। ती आवेदकलाई पुनः दरखास्त पेस गर्न आग्रह गरिएको छ। यदि आवेदन फिर्ता लिन चाहेमा १५ दिनभित्र लिन सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।

पुनः गरिएको सूचनाको मितिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिन अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आग्रह गरेको छ।

अध्यक्ष पदमा आवेदन दिन धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम योग्यता पुगेको हुनुपर्छ। यसका लागि नेपाली नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने र धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव हासिल गरेको हुनु पर्नेछ भने धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको हुनुपर्ने व्यवस्था छ।

इच्छुक उम्मेदवारले अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित अध्यक्षको छनोट तथा सिफारिसम्बन्धी कार्यविधिको दफा ३ बमोजिमको कागजात तथा विवरण र दफा ४ अनुसारको स्वयं घोषणाको व्यहोरा निवेदन स्वयंले प्रमाणित गरी पेस गर्नुपर्नेछ उल्लेख गरिएको छ।

आवेदन दिँदा व्यावसायिक कार्ययोजना (५ हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी पेस गर्नुपर्नेछ। खामबन्दी प्रस्तावको खामबाहिर ‘नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना’ उल्लेख गरेको हुनुपर्नेछ।

छनोट सूचीमा परेका उम्मेदवारले आफूले पस गरेको व्यावसायिक कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतीकरणसमेत गर्नुपर्नेछ।

गत असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सेबोनका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारमार्फत गलत ढंगले खरीद गरेको, ५१ वटा कम्पनीलाई जोखिमयुक्त भन्दै विभिन्न शक्तिकेन्द्रको प्रभावमा परेर सूची प्रकाशन गरेको, धितोपत्र बजारमा गैरकानूनी काम गरेको तथा बजार सम्बद्ध विभिन्न पक्षबाट आर्थिक लाभ लिएको लगायतका गम्भीर आरोप उनीमाथि लागेको थियो।

त्यसअघि ढुंगानालाई अर्थ मन्त्रालयले निलम्बन गरेको थियो। निलम्बनमा परेका उनलाई गत असोज ११ गतेको मन्त्रिपरिषद बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सरकारलाई उनलाई स्पष्टीकरण समेत बुझाएका थिए। तर स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

बर्खास्तीमा परेको ढुंगानाले पनि पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरेका छन्। उनको रिटमा केही दिनभित्रै सुनुवाइ गर्दै सर्वोच्चले आदेश दिन सक्ने बताइएको छ।

IME Life
kumari