stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चिनियाँ नाका खोल्ने उच्चस्तरीय समितिको निर्णय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल  चैत्र १३, २०७६ बिहीबार

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले चीनतर्फका रसुवागढी र तातोपानी नाका सुचारु गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको स्वास्थ्य सम्बन्धि प्रोटोकल अनुसरण गर्दै चीनबाट वस्तु आयात गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस परीक्षण गर्न स्वास्थ्य सामग्री अभाव भइरहेका बेला चीनले नेपाललाई ३० हजार अमेरिकी डलरबराबरको किट सहयोग गरेको छ । चीनको बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाल सरकारलाई सहयोग गरेको हो ।

कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले बेइजिङस्थित नेपाली राजदूतावासका कार्यबहाक राजदूत सुशील लम्साल लाई बुधबार किट हस्तान्तरण गरेका छन् । लम्सालका अनुसार बेइजिङबाट ती किट बिहीबार नै तिब्बतको ल्हासा पु‍र्याइनेछ र त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा स्थलमार्ग हुँदै नेपाल पठाइनेछ ।

यसका अतिरिक्त चीनबाट अन्य स्वास्थ सम्बन्धि उपकरण लगायत सामग्री आयात गरिनेछ । त्यस्तै औषधी लगायत अत्यावश्यक स्वास्थ्य उपकरण आयात गर्न चार्टर हवाई सेवाको व्यवस्था समेत मिलाउन सक्नेछ ।
लकडाउनको दोस्रो दिन साँझ बसेको बैठकले केही अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय पनि गरेको छ । बैंकिङ सेवा सुचारु गर्ने विषयमा अर्थ र गृहमन्त्रालयले समन्वय गर्ने उल्लेख छ ।

त्यस्तै, औषधी, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी, माछाको दाना, कुखुराको चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने भएको छ । त्यस्तै ठूला खाद्य स्टोर तथा पसलहरुले आवश्यक पर्ने सामान होम डेलिभरीको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिनेछ । स्थानीय तहले अत्यावश्यक वस्तु बिक्री गर्ने पसलमा भीडभाड नहुने व्यवस्था मिलाउनुपर्नेछ ।
अतिआवश्यक ढुवानी गर्नुपरेमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आपूर्ति मन्त्रालयसँगको समन्वयमा हवाई ढुवानीको समेत प्रबन्ध मिलाउने बताइएको छ ।
त्यस्तै, देशका विभिन्न भागमा अलपत्र परेका पर्यटकलाई हवाई उद्दारगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुको देशमा फर्कने व्यवस्था गरिएको छ ।

अहिले नेपालमा १३ हजार ६ सय १७ पर्यटक अलपत्र परेको बताइन्छ । यसका अतिरिक्त इण्डक्सन चुल्हो प्रयोगमा भन्सार छुट दिने, विद्युत् महशुल समायोजन गर्न सम्बन्धित मन्त्रालयहरुलाई समितिले निर्देशन दिएका छ ।
त्यस्तै, स्थानीय निकायलाई भारत र तेश्रो मुलुकबाट नेपाल आएकाहरुको स्वास्थ्य सम्बन्धि विवरण र अभिलेख प्रत्येक दिन राख्न आग्रह गरिएको छ ।

कोभिड–१९ को लक्षण देखिएकाहरुको सूचना प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउनुपर्नेछ । स्थानीय तहले क्लोरिन र ब्लीचिङ पाउडरले आआफ्नो क्षेत्र निस्संक्रमण गर्नुपर्नेछ ।
साथै, मालबहाक सामान भन्सारले निस्संक्रमण गरेर मात्र मुलुकभित्र भित्र्याउन समितिले निर्देशन दिएको छ ।

prabhu mahalaxmi
kumari