चाडबाड आयो, चिनीको हाहाकार
अर्थ मन्त्रालयका अधिकारीहरूको गैर जिम्मेवारीपन,लापरबाही, ढिलासुस्ती र हेलचक्राइले भन्सार छुटको चिनी आयातमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनी खरिद प्रकृया अगाडि बढाउन पाएको छैन।
काठमाडौं । सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न नसक्दा आगामी दशैं, तिहार र छठपर्व जस्ता ठुला चाडपर्वमा चिनीको ठुलो अभाव, मूल्य वृद्धि,कालो बजारी र ठुलो अभाव सहित बजारमा चिनीको हाहाकार हुने देखिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार छुटमा चिनी खरिदका लागि अर्थ मन्त्रालयसँग स्वीकृति माग्दा स्वीकृति नआएपछि भन्सार छुटको चिनी खरिदमा अन्योलता देखिएको छ ।
अर्थ मन्त्रालयका अधिकारीहरूको गैर जिम्मेवारीपन,लापरबाही, ढिलासुस्ती र हेलचक्राइले भन्सार छुटको चिनी आयातमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनी खरिद प्रकृया अगाडि बढाउन पाएको छैन।
अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ताले चिनी खरिद प्रकृयाका बारेमा चिनी खरिद स्वीकृति मागको फाइल मन्त्रालयमा आए पनि खरिदको विषयमा अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए ।
उनले भने “चिनी खरिदको विषयमा मन्त्रालयमा धेरै पटक छलफल भएको छ तर अहिलेसम्म चिनी के कति परिणामको खरिद गर्न स्वीकृति दिने भन्ने विषयमा कुनै निर्णय भएको छैन । ”
तर अर्थ मन्त्रीको सचिवालय स्रोतले भने स्वीकृतिका लागि त्यस सम्बन्धी प्रस्ताव अर्थ मन्त्री समक्ष प्रस्तुत नै गरिएको छैन । मन्त्रीले चिनी खरिदको फाइल खोज्दा अहिलेसम्म फेला परेको छैन ।
चिनीको विषयमा मन्त्रीले चासो दिइरहनु भएको छ, दशैँ तिहारका लागि खरिद गर्नुपर्छ भन्ने पक्षमा हुुनुुहुन्छ तर अहिलेसम्म फाइल नै ल्याइएको छैन । कहाँ रोकिएको हो सचिवालयले चासोका साथ हेरेको छ । ”
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट्र टेडिङ कर्पोरेसनमार्फत ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी खरिद गर्न गत २०७८ वैशाख ९ गते नै अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो ।
वाणिज्य मन्त्रालयले पटक–पटक पत्राचार गरे पनि अर्थ मन्त्रालयबाट स्वीकृति नआउँदा चिनी आयात गर्न ढिलाइ भएको छ । जसको परिणाम यस वर्षका चाडपर्वमा चिनीको अभाव हुुने र चिनी उद्योगी तथा व्यापारीले मूल्यमा चलखेल गर्ने देखिएको छ ।
साल्ट टेडिङ कर्पोरेसनका अनुसार कर्पोरेसनसँग मौज्दात चिनी अब २४० मेट्रिक टन मात्रै छ । सरकारी अनुदानको चिनी खरिद तथा बिक्रीका लागि जिम्मा पाएको कर्पोरेसनसँग चिनी मौज्दात सकिन लागेको छ ।
यो मौजाद चिनीले १५ दिनको बजार मागलाई पनि धान्दैन। वाणिज्य मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले भन्सार छुटको चिनी खरिद सम्बन्धि फाइल अर्थबाट स्वीकृति भएर नआउँदा प्रक्रिया अगाडि बढाउन नसकेको जानकारी दिएकी छिन् ।
उहाँले भनिन, “यो वर्ष चिनी उत्पादन कम भएको र अनुदानको चिनी पनि समयमा आयात नहुँदा चाडपर्वमा अभाव भई महँगो हुनसक्ने देखिएको छ । ”
चाडपर्वमा बजारमा चिनीको माग र खपत पनि बढ्ने हुँदा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै बजार मूल्य नियन्त्रण गर्नका लागि पनि कर्पोरेसन मार्फत भन्सार छुटमा चिनी आयात हुँदै आएको थियो तर यो वर्षका लागि अहिलेसम्म स्वीकृत भएको छैन ।
कर्पोरेसनका अनुसार चिनी आयात गर्नका लागि टेन्डर गर्न ४५ दिन प्रक्रियामै लाग्छ । कर्पोरेसनका नायब कार्यकारी निर्देशक कुमार राजभण्डारीले चिनीको मौज्दात सकिन लाग्दा समेत खरिदको स्वीकृत नपाउँदा दशैं–तिहार अघि चिनी खरिद गर्नसक्ने सम्भावना टर्दै गएको बताए । राजभण्डारीले समयमै चिनी आयात हुन नसके बजारमा चिनीको अभाव हुने र मूल्य बढने पनि बताए।
वाणिज्य मन्त्रालयका सहप्रवक्ता केसीले फास्ट ट्र्याकबाट सीधै अर्थ मन्त्रालयले स्वीकृत गरेर मन्त्रिपरिषदमा पेस गरेमा मात्रै तिहारसम्म भन्सार छुुटको चिनी आउँन सम्भव भएको अन्यथा तिहारसम्म पनि चिनी आउने अवस्था कम भइसकेको बताइन् ।
उनले भनिन् “चिनी खरिदका लागि अहिलेसम्म स्वीकृति नै भएको छैन । स्वीकृत भइहाले पनि मन्त्रिपरिषदमा पेस गर्नुपर्ने हुन्छ । वाणिज्य मन्त्रालय मन्त्री विहीन छ, मन्त्री नआएसम्म त्यो प्रक्रिया अगाडि बढ्न सक्दैन । ”
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भने अर्थ मन्त्रालयका केही कर्मचारीको चिनी उद्योगीसँगको मिलेमतोका कारण चिनी खरिदको स्वीकृति दिन अलमल गरेको छ, अर्थ मन्त्री यस विषयमा चनाखो नहुुने हो भने भन्सार छुुटको चिनी आउँदैन ।
यस वर्ष ८० हजार मेट्रिक टन चिनीको उत्पादन कम भएको उद्योगीको भनाइ छ । मुलुकमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेकामा यो वर्ष १ लाख १० हजार मेट्रिक टन मात्र उत्पादन भएको चिनी उत्पादक सङ्घको तथ्याङ्क रहेको छ ।
अपुग १ लाख ४० हजार मेट्रिक टन चिनी विदेशबाट आयात गर्नुपर्ने हुन्छ। देशमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन माग रहे पनि गत वर्षदेखि नै उत्पादनमा कमी आएको थियो ।
चिनी उद्योगीले उखु किसानलाई समयमै उखुको भूक्तानी नदिदा उखु किसानले उखु नलगाई अन्य बाली लगाउन थालेकाले पनि चिनीको उत्पादन कम हुने गरेको छ।
उद्योगीका अनुसार गत वर्ष नै चिनी ७० हजार मेट्रिक टन कम उत्पादन भएको थियो । बजारमा तीन महिना अघिदेखि नै चिनीको मूल्य बढेको छ ।
उद्योगीले प्रतिकेजी पाँच रुपियाँ बढाएको बताए पनि बजारमा भने १० रुपियाँ बढेको छ । बजारमा प्रतिकेजी ९० देखि ९५ रुपियाँ खुद्रा मूल्यमा चिनी बिक्री भैरहेको छ । खुद्रा व्यवसायीले पसलैपिच्छे फरक–फरक मूल्य लिदै उपभोक्तालाई प्रत्यक्ष असर पारिरहेका छन् ।


























