कोरोना बीमाको भुक्तानी रोकियो
काठमाडौं । अर्थ मन्त्रालयले रकम निकासा नगरेकाले बीमा कम्पनीहरूले कोरोना बीमा दाबी भुक्तानी रोकेका छन् । गत वर्षबाट सुरु भएको कोरोना बीमा कार्यक्रम पनि यही असार मसान्तमा सकिँदैछ ।
कोरोना संक्रमितलाई लक्ष्यित गर्दै आकर्षक बीमा कार्यक्रम ल्याएपछि लाखौं मानिसहरूले कोरोना बीमा गरेका थिए । संक्रमितको संख्या बढ्दा कम्पनीहरूले हात उठाएको कारण यसको आर्थिक व्ययभार सरकारले बोकेको थियो । तर, केही समयदेखि सरकारले पनि पैसा नदिएको भन्दै कम्पनीहरूले भुक्तानी गरेका छैनन् ।
अहिले बीमाको बक्यौता रकम ५ अर्ब नाघेको छ । नेपाल बिमक संघको तथ्याङ्क अनुसार गत जेठ महिना सम्ममा ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भएको थियो । यसमा सरकार मातहतको बीमा समितिको एक अर्ब रुपैयाँ छ भने बाँकी पैसा बिमक संघ र बीमा कम्पनीहरुको हो ।
साढे तीन अर्बभन्दा बढीको दावी पर्न आए सरकारले नै बहन गर्ने भन्ने थियो । तर, अहिलेसम्म अर्थ मन्त्रालयले एक पैसा पनि नदिएको कम्पनीहरूले आरोप लगाएका छन् । रकम भुक्तानीका लागि एक महिनाअघि नै अर्थ मन्त्रालयमा पत्र पठाइसकेको विमक संघका महासचिव चंकी क्षेत्रीले बताएका छन् ।
बीमा कम्पनी माथिको रकम सरकारले तिर्ने बताए पनि अहिलेसम्म सरकारबाट एक रुपैयाँ पनि भुक्तानीका रुपमा नआएको बीमा कम्पनीहरूको दावी छ ।
सरकारले आफनो दायित्वमा लिएको रकम निकासी गर्न ढिलाइ गर्दा कम्पनीहरुलाई अफ्ठेरो परिरहेका छन् ।
अहिले कोरोना बीमावापत ५ अर्ब ७८ करोड ६ लाख रुपैयाँ विमितलाई भुक्तानी गर्न बाँकी छ । रकमका लागि अर्थ मन्त्रालयमा ताकेता गर्दा अहिलेसम्म कुनै जवाफ नपाइएको कम्पनीहरूको भनाइ छ।
पहिला बीमा कम्पनीले रकम भुक्तानी गरेनन् भनेर नकारात्मक प्रचार गरियो । अहिले अर्थ मन्त्रालयले रकम निकासी नगर्दा पनि कम्पनी नै घानमा परेका छन् ।
अर्थ मन्त्रालयले भने यस विषयमा अहिले कुनै छलफल नभएको बताएको छ । मन्त्रालयका प्रवक्ता महेश आचार्यले एक महिनाअघि नै कोरोना बीमाको रकम भुक्तानीका लागि पत्र आएको भए पनि छलफल नभएको बताएका छन् ।
हालसम्म जम्मा ९७ हजार ६ सय २८ जनाले कोरोना बीमा दावी भुक्तानीका लागि निवेदन दिएका छन् । उनीहरुको भुक्तानी गर्दा ९ अर्ब ३७ करोड ६६ लाख ८ हजार ७ सय ५४ रुपैयाँको भार पर्छ ।
अहिले विमक संघमा ८० हजार २ सय ८६ वटा निवेदन स्वीकृत भइसकेका छन्, जसवापत ७ अर्ब ६१ करोड ४१ लाख रुपैयाँ भुक्तानी हुनुपर्छ । यसमा निजि बीमा कम्पनीहरुले सकेको मात्र भुक्तानी गरेका छन् ।
अर्थ मन्त्रालयले तुरुन्त रकम निकासा नगरे बीमा कम्पनीले धान्न नसक्ने बीमा कम्पनीहरूको भनाइ छ । कारोनाको दोस्रो लहरको कल्पना पनि नगरेको अवस्थामा पहिलो लहरमा भन्दा बढी दवाव परेको छ ।
बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले अर्थ मन्त्रालयसँग रकम निकासीका लागि कुरा भइरहेको र केही व्यावहारिक पक्षले ढिलाइ भएको जनाएको छ । समितिका अनुसार सोमबार पनि कोरोना बीमा रकम भुक्तानीका लागि मन्त्रालयमा अपडेट गराइएको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन । मन्त्रालयले साकारात्मक जवाफ दिएकाले चाँडै नै रकम निकासी हुने बताइन्छ ।
अहिले सबैभन्दा धेरै सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा २७ हजार १२४ वटा भुक्तानी दावी परेका छन्, जसका लागि २ अर्ब २५ करोड ३४ लाख रुपैयाँ बराबर रकम आवश्यक पर्छ । यसैगरी शिखर इन्स्योरेन्सले पनि १३ हजार ५ जनाको कोरोना बीमा भुक्तानी गर्नु पर्नेछ ।
जसका लागि ९७ करोड रुपैयाँ चाहिन्छ । सबैभन्दा कम नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ । सो कम्पनीमा ६ सय ३५ वटा कोरोना दावी भुक्तानी परेको छ भने ४ करोड ८३ लाख रुपैयाँ भुक्तानी गर्नु पर्नेछ ।
कोरोना बीमा कार्यक्रम असार मसान्तबाट सकिँदैछ । त्यस उप्रान्त बीमितहरुलाई संक्रमण देखिए पनि उनीहरुले दावी गर्न पाउने छैनन् । तर, असार मसान्तभित्र दावी गरेकाहरुको भुक्तानी प्रक्रिया भने बन्द हुने छैन । कहिलसम्म भुक्तानी गरिसक्ने भन्ने कुनै कार्ययोजना नभएकाले धेरै बिमितहरु अन्योलमा छन् ।
आर्थिक वर्ष ०७७/०७८ को बजेट बक्तव्यमा नेपाल सरकारले ५० प्रतिशत अनुदान दिने र राष्ट्रसेवक कर्मचारीको हकमा निःशुल्क कोरोना बीमा गर्ने उल्लेख गरिएको थियो।























