stcnepal long ad
dftqc long ad
prabhu bank long ad

बिहीबारदेखि अपि पावर कम्पनीको २९.३८प्रतिशत हकप्रद खुल्दै

civilbank long ad

काठमाडौं । अपि पावर कम्पनीले जेठ २० गते बिहीबारदेखि १ः०.२९३८ अनुपातमा (२९.३८ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

अपिले हकप्रद सेयर बिक्रीका लागि वैशाख २९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख २८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

अपि पावर कम्पनीको हकप्रद सेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिने छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिने छ ।

अपि पावरको हकप्रद सेयरलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । यसअघि, अपिले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म पनि ५६ लाख ७० हजार कित्ता (४७ प्रतिशत) हकप्रद सेयर बिक्री गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले यही पुँजीबाट १ः०.२९३८ अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो । अब यो हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ । यता, अपिले आगामी आर्थिक वर्ष २०७८/०७९ मा पनि पुँजी वृद्धि गर्ने योजना बनाएको छ । हकप्रदको आह्वानपत्रमा उल्लेख गरेअनुसार अपिले आगामी आर्थिक वर्षमा थप १ अर्ब ८ करोड ६० लाख रुपैयाँ पुँजी विस्तार गर्ने देखिएको छ ।

आगामी आर्थिक वर्षमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५८ करोड २७ लाख ५६ हजार रुपैयाँ पुँजी पुर्याउने प्रक्षेपण रहेको छ । अपिले ४० मेगावाट क्षमताको अपर चलेमिया जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन चरणवद्ध रुपमा हकप्रद सेयर जारी गर्न लागिएको जानकारी गराएको छ । हाल यसको अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी ४ अर्ब रुपैयाँ छ ।


१९ जेठ २०७८, बुधवार १०:११ बजे प्रकाशित

nawakantipur long
nabilbank long ad