१ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी गर्न बैंक अफ काठमान्डूलाई धितोपत्र बोर्डको अनुमति
काठमाडौं । बैंक अफ काठमान्डूले १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र ल्याउन नेपाल धितोपत्र बोडबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १६ लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोडबाट अनुमति पाएको हो । यसमध्ये ६ लाख ४० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ९ लाख ६० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘बीओके ऋणपत्र–२०८६’ ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले गर्नेछ । बीओकेले १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न रेटिङ गराइसकेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०५ ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।























