साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको २५ सय मेट्रिक टन चिनी भोली आईपुग्ने
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको २५ सय मेट्रिक टन चिनी भोली कार्तिक ५ गते बुधबार भारतको रक्सौल नाका हुँदै वीरगञ्ज सुख्खा बन्दरगाहा आइपुग्ने भएको छ ।
सरकारले चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत कम भन्सार दरमा आयात गर्न ढिलो गरि अनुमति दिएको थियो ।
सरकारको सो अनुमति ढिलो हुँदा बजारमा निजी व्यापारीले उपभोक्तालाई बढी मूल्य लिएर मारमा पार्दै आएका छन। साल्ट ट्रेडिङ कर्पोरेसनले ५० प्रतिशत भन्सार छुटमा चिनी भित्र्याउन लागेको छ ।
सरकारले साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन र खाद्य कम्पनीलाई १० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो । खाद्य कम्पनीले सो चिनी दशैंपछि मात्र ल्याउने भएको छ भने साल्ट ट्रेडिङले सो चिनी २५ सय मेट्रिक टन भोली कार्तिक ५ गते बुधबार वीरगञ्जको नाका आइपुग्ने जानकारी दिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले भोली ५ गते बुधबार २५ सय मेट्रिक टन चिनी वीरगन्ज नाका आईपुग्ने र बाँकी चिनी त्यसको केही दिनपछि निरन्तर आउने जानकारी दिएका छन ।
विभागीय प्रमुख झाले सरकारले साल्ट ट्रेडिङलाई चिनी आयात गर्न अनुमति ढिला दिएको हुँदा चिनी आयात गर्न केही ढिला भएको पनि बताएका छन। आपूर्ति मन्त्रालयका अधिकारीहरूले चिनी मिल र काला व्यापारीसँग मिलेमतो गरेर साल्ट ट्रेडिङ कर्पोरेसनलाई चिनी आयातको अनुमति दिन ढिला गरेको,चिनी आयात गर्न लिमिटेडले पठाएको फायल ७ महिनासम्म घर्रामा लुकाएर अलमल गरेर निजी व्यापरीसँग घुस खाएर उपभोक्तालाई बढी मूल्य तिर्न बाध्य पारेको मन्त्रालय स्रोतले बताएको छ।
चिनीको मौज्दात कम हुने देखिएपछि साल्ट ट्रेडिङले सरकारलाई गत २०७६ माघ महिनामा नै चिनी आयातका लागि अनुमति माग गरेको थियो ।
तर, सरकारले कर्पोरेसनलाई चिनी आयात गर्ने अनुमति भदौ महिनाको अन्तिममा मात्र दिएको हुँदा चिनी आयातमा ढिला भएको हो । गत फागुनमै आयात अनुमति दिएको भए लकडाउन अगाडि नै बजारमा सस्तो मुल्यमा चिनी पाइन्थ्यो।
यदि सरकारले कर्पोरेसनले आयातको अनुमति माग गरेको समयमा नै चिनी आयात गर्न अनुमति दिएको भए उपभोक्ताले अहिले बजारबाट महँगो चिनी किनेर खानुपर्ने बाध्यता हुने थिएन । पहिलो लटको चिनी भोली बुधबार नेपाल आइपुग्छ । दोस्रो लट भने विजया दशमीसम्म आइपुग्ने भएको छ ।
दसैंमा ५–६ दिन बिदा हुने हुँदा बीचमा चार –पाँच दिन चिनी आयात हुने छैन नत्र भने अब सरकारले साल्ट ट्रेडिङलाई आयात गर्न दिएको अनुमति अनुसार चिनी निरन्तर विदेशवाट आयात हुनेछ । तिहार छठ पर्वमा चिनी सस्तो र बजारमा सहज हुनेछ।
अहिले कर्पोरेसनसँग चिनी धेरै मौज्दात नहुँदा कर्पोरेसनले थोक व्यापारीलाई चिनी बिक्री गरेको छैन,खुद्रामा मात्र बिक्री गरिरहेका छ ।
२५ सय मेट्रिक टन आइपुग्दा थोक व्यापारीलाई पनि कर्पोरेसनले चिनी बिक्री गर्नेछ । साल्ट ट्रेडिङको चिनी आएपछि बजारमा बढेको चिनीको मूल्य पनि घट्ने र ६५ रूपैयाँ सम्ममा झर्ने सम्भावना रहेको छ ।
अहिले खुद्रा बजारबाट प्रतिकेजी चिनी उपभोक्ताले ८५ रुपैयाँदेखि ९५ रुपैयाँ तिरी रहेका छन् । तर, साल्ट ट्रेडिङ बजारमा मूल्य भन्दा प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्म सस्तो बिक्री गरिरहेको छ ।
साल्ट ट्रेडिङले बजारको मूल्य भन्दा हरेक खाद्य वस्तु सस्तो र गुणस्तरीय बिक्री वितरण गर्दै आएको विभागिय प्रमुख ब्रजेशकुमार झाले बताएका छन ।
साल्ट ट्रेडिङले दसैं–तिहार चाडपर्वलाई मध्यनजर गरि विशेष छुट गरेर काठमाडौंका विभिन्न पाँच स्थानबाट खाद्य वस्तु बिक्री वितरण गरिरहेको छ । यसैगरी देशका विभिन्न कार्यालयबाटै बाहिरबाट पनि उपभोक्तालाई छुटमा खाद्यवस्तु बिक्री–वितरण गरी रहेको छ ।
विभागीय प्रमुख झाका अनुसार विभिन्न प्रकारका चामलको प्रति बोरामा ५० रुपैयाँदेखि एक सय रुपैयाँ छुट बिक्री वितरण गरिरहेको छ । यसैगरी विभिन्न प्रकारका दाल, गेडागुडी प्रतिकेजी ३ देखि ५ रुपैयाँसम्म छुटमा दिएको छ ।
चिनी प्रतिकेजी ७३ रुपैयाँ बिक्री गर्दै आएको साल्ट ट्रेडिङले अहिले दशैं तिहारका लागि प्रति केजी ३ रुपैयाँ छुट गरेर ७० रुपैयाँमा दिएको छ । सोही चिनी अहिले बजारमा ७५ रुपैयाँदेखि ९५ रुपैयाँ सम्म पर्ने गरेको छ ।
यसैगरी २० रुपैयाँ पर्ने आयो नुनलाई साल्ट ट्रेडिङले प्रतिकेजी २ रुपैयाँ छुट गरेर १८ रुपैयाँमा दिने गरेको छ । साल्ट ट्रेडिङले उपभोक्तालाई बिक्री गर्दै आएको खाद्य वस्तु बजारको भन्दा सस्तो र गुणस्तरीय हुने हुँदा उपभोक्ताको छुट बजारमा भिडभाड हुने गरेको पाईन्छ ।

























