साल्ट ट्रेडिङको २० हजार मेट्रिक टन चिनी एक सातामै आइपुग्ने
काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ का लागि सरकारबाट प्राप्त गरेको कोटाको २० हजार मेट्रिक टन चिनी खरिद गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसनले अबको एक सातामै नेपालमा चिनी आइपुग्ने जनाएको छ ।
कर्पोरेसनका विभागीय प्रवन्धक व्रजेशकुमार झाले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाट कर्पोरेसनले खरिद गर्ने चिनीको गुणस्तर ठीक भएको प्रमाणपत्र आइतबार प्राप्त भइसकेकाले अब केही अवरोध नभएको खण्डमा एक हप्ता भित्रै कोटाको २० हजार मेट्रिक टन चिनी नेपाल आइपुग्ने जानकारी दिनुभयो ।
गुणस्तरको प्रतिवेदन आउन ढिला हुँदा चिनी आउने समय पछि सरेको हो । अरु बेलाको अवस्थामा भने गुणस्तर परीक्षणका लागि नमुना पेस गरेको ४ / ५ दिनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्रमाणपत्र आउने गरेकोमा यस पटकमा भने १० दिन लागेको कर्पोरेसनका विभागीय झाले बताउनुभयो ।
“चिनी खरिदका लागि गर्नुपर्ने अन्तिम प्रक्रिया बैङ्किङ प्रक्रिया (एलसी खोल्ने) आज/भोलि नै सुरु गर्छौं,कर्पोरेसनका विभागीय झाले भन्नुभयो, अब ढिला हुनुपर्ने कुनै कारण छैन । ”
विदेशबाट खाद्य वस्तु खरिद गर्दा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रयोगशालामा नमुना परीक्षण गर्दा गुणस्तर ठीक भएको प्रमाणपत्र अनिवार्य रूपमा भन्सारमा बुझाउनु पर्ने नियम रहेको हुन्छ । सोही बमोजिम नेपालमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालाले मात्रै यस प्रकारको गुणस्तर प्रमाणपत्र दिनसक्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक एवं प्रवक्ता मोहनकृष्ण महर्जनले विदेशबाट खाद्य वस्तु आयात गर्नुपरेमा आवश्यक कागजात सहित प्रमाणपत्रका लागि गुणस्तर परीक्षणको नमुना पेस गरेको बढीमा ४ दिनभित्र प्रमाणपत्र उपलब्ध गराउने गरेको जानकारी दिनुभयो ।
महर्जनले प्रमाणपत्रका लागि पेस गर्नुपर्ने आवश्यक कागजात भएको खण्डमा ४ दिनभन्दा बढी नलाग्ने दाबी समेत गर्नुभयो । यदि १० दिन लागेको हो भने कागजात अपुग भएर हुनसक्ने महर्जनको भनाइ रहेको छ ।
साल्ट ट्रेडिङका अनुसार हाल कर्पोरेसनसँग एक/डेढ सय मेट्रिक टनको हाराहारीमा चिनी मौज्दात रहेको छ । हाल आफ्ना बिक्री केन्द्र र डिपो मार्फत बाहेक अन्य ठाउँमा कर्पोरेसनको चिनी बिक्री भएको छैन ।
खुला बजारमा प्रतिकेजी ९०/९५ रुपियाँमा कारोबार भएको चिनी कर्पोरेसनले भने ७३ रुपियाँमा बिक्री गर्दै आएको छ । कर्पोरेसनको चिनी मौज्दात सकिँदै जानु र नयाँ खरिद ढिला हुँदा चिनीको भाउ बढेको विश्लेषण भइरहेका बेला कर्पोरसनको चिनी छिटो आउने सङ्केतले बजार भाउ घटने आश व्यापारीले अनुमान गरेका छन् ।
नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले कर्पोरेसनको चिनी बजारमा आउनासाथ बजारमा अहिले बिक्रीको भएको मूल्यमा थोरै भए पनि घट्ने दाबी गर्नुभयो । कर्पोरेसनले गएको फागुन महिनामै ५० हजार मेट्रिक टन चिनी खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत सरकारसँग अनुमति माग गरेको थियो । गत साउन १३ गतेको सरकारको निर्णय अनुसार कर्पोरेसनलाई २० हजार मेट्रिक टन मात्रै चिनी खरिद गर्न स्वीकृत दिएको थियो ।
सरकारले यस पटक कर्पोरेसनलाई २० हजार र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार मेट्रिक टन गरी जम्मा ३० हजार मेट्रिक टन खरिदका लागि स्वीकृति दिएको छ तर खाद्य कम्पनीको चिनी भने दशैँअघि नआउने पक्का पक्की भएको छ ।
देशमा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेकामा गत वर्ष एक लाख ७० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । यो हेर्दा पनि नेपाललाई वार्षिक ८० हजार मेट्रिक टन चिनी अपुग हुने गरेको देखिन्छ । खुला सीमाका कारणले ठूलो परिमाणमा तस्करीबाट चिनी नेपालमा भित्रिने गरेको समेत पाइन्छ ।
























