शेयर बजारप्रति गभर्नर डा.पौडेल लचिलो तर शेयर बजारमा सकारात्मक प्रभाव देखिएन

काठमाडौं । मौद्रिक नीतिको त्रैमासिक समीक्षा नेपाल राष्ट्र बैंकले गरेको छ। यसमा नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल शेयर बजारप्रति केही लचिलो नीति लिएर अर्थतन्त्रको चलायमान गराउन लागेका छन् ।
पौडेलले गभर्नर नियुक्त भएको एक साता नबित्दै चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत ‘सजगतापूर्वक सन्तुलित’ कार्यदिशा अख्तियार गर्दै शेयर धितो कर्जाको जोखिमभार घटाएका छन । अर्थतन्त्रमा केही सुधारका संकेत देखिएको र आन्तरिक बजारको माग व्यवस्थापन गर्ने मौद्रिक नीतिको प्राथमिकता रहने भन्दै उनले आगामी दिनमा लचिलो नीति लिने संकेत गरेका छन् ।
गभर्नर पौडेलले मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत शेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्ने,बैंक, वित्तीय संस्थाहरूले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने रचेक अनादर सम्बन्धी बेहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिने नीति गत आइतबार घोषणा गरेका छन।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा विद्यमान शेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिएको छ । हाल ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत छ । बैंक, वित्तीय संस्थामा अधिक तरलता भए पनि पूँजीकोषमा दबाब हुँदा बैंक तथा वित्तिय संस्थाहरूले कर्जा प्रवाह बढाउन सकेका छैनन् ।
मौद्रिक नीतिको नयाँ व्यवस्थाले बैंकहरूको पूँजीकोषमा केही सहज हुने र यसले मार्जिन कर्जा वृद्धि हुने सम्भावना रहेको छ । तर गत सोमबारको सेयर बजार नेप्से भने ५.२१ अंकले घटेको छ। सेयर कारोवार अंक ७ अर्ब ५८ करोडको हाराहारीमा पुगेको छ। यो नयाँ नीतिले सेयर बजार बिस्तारै उकालो लाग्ने अनुमान गर्न सकिन्छ।
चार वर्षअघि २०७८ सालमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जामा सीमा तोक्नुका साथै जोखिमभार समेत वृद्धि गरी १५० प्रतिशतसम्म पुर्याएका थिए । गतवर्ष भने जोखिमभार घटाएर ५० लाखमुनिको कर्जामा १२५ प्रतिशत कायम गरेका थिए ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षामा राष्ट्र बैंकले समग्र मागमा सुधार आएको र अर्थतन्त्रको क्षमता उपयोगमा सुधार आउन थालेको विश्लेषण गरेको छ । आर्थिक गतिविधिमा आएको सुधारलाई
दिगो बनाउन सहयोग पुग्ने गरी आन्तरिक मागको व्यवस्थापन हुन सके मात्र आर्थिक तथा वित्तीय सन्तुलन कायम राख्न र ब्याजदरमा आउने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सम्भव हुन्छ। यसर्थ, सन्तुलित स्तरमा मौद्रिक तरलता कायम राखी समग्र आन्तरिक माग व्यवस्थापन गर्ने तर्फ मौद्रिक नीतिको जोड दिएको देखिन्छ ।
यसैगरी राष्ट्र बैंकले न्यून ब्याजदरका कारण कर्जा प्रवाहमा सुधार हुँदै जाँदा आर्थिक गतिविधिमा सुधारभई बैंक र वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन सहज हुँदै जाने विश्लेषण गरेको छ । यद्यपि त्रैमासिक समीक्षामा बैंक दर, नीतिगत दर र ब्याजदर कोरिडोर परिवर्तन गरिएको छैन,
यथावत राखिएको छ ।
तर नयाँ गभर्नर डा. पौडेलले सरकारले बजेट ल्याइसकेपछि आगामी साउन पहिलो साता ल्याउने मौद्रिक नीतिमा बैंक दर, नीतिगत दर र ब्याजदर कोरिडोर परिवर्तन गर्ने संकेत गरेको छ। राष्ट्र बैंकले वित्तिय अनुशासन,नियमन र अनुगमनमा कडा नीति र लगानी नीतिमा भने केही लचिलो भएर आगामी दिनमा मौद्रिक नीति ल्याउने अपेक्षा गरिएको छ।
यद्यपी अहिले विश्व अर्थतन्त्रमै मन्दी रहेकाले लगानी बढने अवस्था छैन। बजारमा उपभोगको माग नबढी आन्तरिक अर्थतन्त्र चलायमान हुँदैन। उर्जा क्षेत्रमा नेपाली जनताको ५१ प्रतिशत सेयर लगानी जुटाएर विद्युत उत्पादन सुरू नगरि नेपाल धनी र समृद्व हुन सक्दैन। उर्जामा सबै नेपालीहरूको लगानी जुटाएर वार्षिक ३ खर्ब मात्र लगानी गर्ने हो भने आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत सजिलै उत्पादन गरि १५ हजार मेगावाट बिक्री गर्न र १२ हजार ५ सय मेगावाट विद्युत आन्तरिक खपत गर्ने बाताबरण मिलाउन सकिन्छ।
मौद्रिक समीक्षाबाट बैंकहरूको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकमा अनिवार्य रूपमा राख्नुपर्ने नगदको सीमा पनि बढाइएको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय राष्ट्र बैंकले खुला बजार कारोबार उपकरणहरूमा गरेको सुधारलाई दृष्टिगत गरी बैंक, वित्तीय संस्थाहरूले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था पनि गरिएको छ । हाल बैंकहरूले दैनिक ७० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नुपर्ने प्रावधान छ ।
यसैगरी मौद्रिक नीतिको समीक्षामा लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरूलाई समावेश गरी विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली तथा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधन बमोजिम चेक अनादर सम्बन्धी बेहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिने नीति लिएको छ । यसले समस्यामा परेका व्यवसायीहरूलाई केही राहत दिने छ।
सेयर बजारमा सकारात्मक सुधार देखिएन
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षाबाट शेयर कर्जा नीतिमा केही लचिलो नीति ल्याएपनि त्यसका सकारात्मक प्रभाव गत सोमबारको सेयर बजारमा देखिएन। बरू लगानीकर्ताको विश्वासमा आएको कमीले होला अपेक्षाविपरीत सोमवार सेयर बजार नेप्से घटेको देखियो।
लगानीकर्ताहरूले बजेट घोषणालाई पर्खिएको पाइयो । अपेक्षा अनुसार गत आइतबार बन्द भएको नेप्से अंकभन्दा सोमबार बढेर २ हजार ७ सय १२ दशमलव ६९ अंकबाट खुलेको बजार छोटो समयमा माथि २ हजार ७ सय ४५ दशमलव ९० अंकमा पुगेर फेरि घटेर २ हजार ६ सय ७४ दशमलव ७६ अंकमा बन्द भएको थियो ।
नेपाल राष्ट्र बैंकले गत आइतवार शेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरेपछि शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्ने
अपेक्षा विपरीत सोमबार शेयर बजार ५.२१ अंकले घटेर बन्द भएको थियो । तर कारोबारका क्रममा २ हजार ६ सय ७०.८९ सम्म घटेको बजार फेरि केही बढेर अन्त्यमा २ हजार ६ सय ७४.७६ अंकमा बन्द भएर बजार सम्हालिन खोजेको देखिन्छ । सोमबार शेयर बजार ०.१९ प्रतिशतले घटेको छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भए पनि पूँजीकोषमा दबाबका कारण कर्जा नबढेको अवस्थामा राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिमभार २५ प्रतिशतले घटाएकाले आगामी दिनमा शेयर धितो कर्जा बढ्ने अपेक्षा गर्न सकिन्छ ।
लगानीकर्ताहरूले शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा झार्न माग गर्दै आएका थिए । लगानीकर्ताहरूको माग सम्बोधन भए पनि सोमवारको शेयर बजारले उनीहरूको उत्साह प्रतिविम्बित गर्न सकेको पाइएन ।
सोमवार कुल बजार पूँजीकरण ८ अर्ब ६८ करोड रुपैयाँले घटेको छ । अघिल्लो आइतबारका दिन सेयर कारोबार ४४ खर्ब ५९ अर्ब ४७ करोड ३३ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण सोमबार घटेर ४४ खर्ब ५० अर्ब ७९ करोड ३० लाख रुपैयाँ कायम भएको छ ।
सोमबार उत्पादन तथा प्रशोधनको ०।७९ प्रतिशत र बैंकिङ समूहको ०।१७ प्रतिशत परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घट्दा लघुवित्तको सर्वाधिक १।५० प्रतिशत घटेको छ । सोमबार ९२ कम्पनीको धितोपत्र मूल्य बढ्दा ओम मेगाश्री फर्मास्युटिकल्सको ९।९९ प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर प्रतिकित्ता ११२ रुपैयाँ ६० पैसाले बढेर १ हजार २३९ रुपैयाँ ३० पैसा शेयरमूल्य कायम भएको छ ।
१५५ कम्पनीको धितोपत्र मूल्य घटेको अवस्थामा गुराँस लघुवित्तको १० प्रतिशतले र बाराही हाइड्रोपावरको शेयरमूल्य ९.८५ प्रतिशत घटेको छ । गुराँस लघुवित्तको शेयरमूल्य प्रतिकित्ता २९५ रुपैयाँ ९२ पैसाले घटेको छ भने बाराही हाइड्रोपावरको प्रतिकित्ता ९३ रुपैयाँ ८२ पैसाले घटेको छ ।
सोमबार अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ ।
आइतबारका दिन ७ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको १ करोड ८५ लाख ५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा सोमवार ७ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख ६० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
कुल कारोबार रकममा सोमवार पनि राधी विद्युत् कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । राधी विद्युत्को ६४ करोड ३१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयर मूल्य भने प्रतिकित्ता १२ रुपैयाँ २४ पैसाले बढेर अन्तिम मूल्य ८०४ रुपैयाँ कायम भएको थियो ।