सुस्त अर्थतन्त्रमा भएपनि केही बैंकहरूको आक्रामक कर्जा विस्तार
काठमाडौं । वर्तमान सुस्त अर्थतन्त्रमा पनि गत आर्थिक वर्ष २०८०/८१ मा तीन सरकारी वाणिज्य बैंकहरू कृषि विकास बैंक,राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र तीन निजी क्षेत्रका स्थापित बैंकहरू नबिल बैंक लि., एभरेष्ट बैंक लि. र प्राइम कमर्शियल बैंक लि.ले आक्रामक रुपमा व्यवसाय विस्तार गरेका छन् । यी बैंकले वाणिज्य बैंकहरुको औसत निक्षेप र कर्जा विस्तारभन्दा बढीले बढाएका छन् ।
आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार २० वाणिज्य बैंकहरूको निक्षेप र कर्जा विस्तार दर क्रमशः १३.१५ र ५.८६ प्रतिशत रहेको छ । तर, यी छ वटा बैंकहरूको निक्षेप वृद्धिदर २१ प्रतिशत र कर्जा विस्तारदर १२ प्रतिशत रहेको देखिन्छ ।
यसैगरी आर्थिक वर्षभर बढेको निक्षेपमा यी बैंकहरूको हिस्सा ४८ प्रतिशत तथा कर्जा ६२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सञ्चालनमा रहेका २० बैंकले निक्षेप ६ खर्ब ६९ अर्बले तथा कर्जा २ खर्ब ५२ अर्ब रुपैयाँले बढाएका छन् । यसमध्ये छ वटअ बैंकले नै ३ खर्ब २५ अर्ब रुपैयाँको निक्षेप संकलन गरेका छन् भने १ खर्ब ५५ अर्ब रुपैयाँले कर्जा बढाएका छन् ।
यी छ बैंकले बढाएको निक्षेपको हिस्सा २० बैंकहरूले वर्षभरि संकलन गरेको निक्षेपको ४८ प्रतिशत रहेको छ र कर्जाको हिस्सा ६२ प्रतिशत रहेको छ । सरकारले गत आर्थिक वर्षमा ३.८६ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो ।
गत आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य हासिल गर्न नेपाल राष्ट्र बैंकले कर्जाको वृद्धिदर ११।५ प्रतिशत हासिल गर्ने लक्ष्य राखेको थियो ।
अर्थतन्त्रमा आएको सुस्तताले पुँजी कोष अनुपातमा रहेको दबाबका कारण कतिपय बैंकहरु थप ऋण दिन नसक्ने अवस्थामा पुगेका बेला पुँजीकोषमा कम दबाब भएका कारण व्यवसाय विस्तारमा यी छ वटा बैंकहरूले कर्जा प्रवाहमा आक्रामक रणनीति अपनाएको देखिन्छ ।
अर्थतन्त्रमा देखिएको सुस्तताका कारण कर्जाको माग बढ्न नसकिरहेको बेलामा कसरी यी बैंकहरूले बढी कर्जा प्रवाह गरे भन्ने प्रश्न पनि उठिरहेको छ ।
यी छ वटा वाणिज्य बैंकहरू मध्ये ३ वटा सरकारी बैंकमा प्राथमिक पुँजीकोष दबाबमा छैनन् । नबिल बैंक र प्राइम कमर्सियल बैंक गत आर्थिक वर्षमा निकै आक्रमक देखिएका छन् । भारतीय लगानीको एभरेष्ट बैंकले आफ्नो गतिलाई निरन्तरता दिएको छ ।
कुन बैंकको कर्जा तथा निक्षेप विस्तार र दर कति ?
अर्थतन्त्रमा आएको सुस्तताका यी चार वटा बैंकहरूले राष्ट्र बैंकले लिएको कर्जा विस्तारको लक्ष्यभन्दा बढी ऋण दिएका छन् । कर्जा विस्तार दर प्राइम बैंकको १८.९०, नबिलको १३.७४, कृषि विकास बैंकको १३.०५ र नेपालको ११.५७ प्रतिशत रहेको छ ।
यसैगरी एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकको कर्जा वृद्धिदर क्रमशः १०.९३ र ५.४१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा रकमका आधारमा सबैभन्दा धेरै कर्जा नबिल बैंकले बढाएको छ भने प्रतिशतका आधारमा प्राइम कमर्सियल बैंकले ।
नबिलले एकैसालमा ४७ अर्ब रुपैयाँ बराबरको कर्जा थप गर्दा प्राइमले ३१ अर्ब, कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ र एभरेष्टले १८ अर्बले विस्तार गरेको छ ।
यसैगरि नबिलको कर्जा ३ खर्ब ४१ अर्बबाट बढेर ३ खर्ब ८८ अर्ब पुगेको छ । कर्जा प्रवाहको हिसाबले नबिल ग्लोबल आईएमई भन्दा २ अर्बले कम रही दोस्रो स्थानमा छ ।
प्राइमको कर्जा १ खर्ब ६३ अर्बबाट बढेर १ खर्ब ९४ अर्ब रुपैयाँ र कृषि विकास बैंकको १ खर्ब ८३ अर्बबाट २ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।
निक्षेप तर्फ यी वाणिज्य बैंक निकै आक्रामक देखिएको छ । बैंकले १ वर्षमै १ खर्ब रुपैयाँभन्दा बढी निक्षेप बढाएको छ जुन कार्यमा राष्ट्रिय वाणिज्य एक्लो बैंक पनि हो ।
राष्ट्रिय वाणिज्य बैंकले ३ खर्ब २२ अर्बबाट करिब एक तिहाइले कर्जा विस्तार गरेर तेस्रो ठूलो निक्षेप भएको बैंक बनेको छ । बैंकको कर्जा १ खर्ब ६ अर्बले बढेर ४ खर्ब २९ अर्ब भएको हो ।
वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदरभन्दा यी छ वटै बैंकको वृद्धिदर बढी रहेको देखिन्छ । यस अवधिमा कृषि विकास बैंकको निक्षेप २२.०९, एभरेष्ट बैंकको १७.१५, नबिल बैंकको १६.४२, नेपाल बैंकको १५.३५ र प्राइम कमर्सियल बैंकको २०.६८ प्रतिशतले बढेको छ ।
कृषि विकास बैंकको निक्षेप २ खर्ब रुपैयाँबाट ४४ अर्बले बढेर २ खर्ब ४४ अर्ब, एभरेष्ट बैंकको निक्षेप १ खर्ब ९९ अर्बबाट ३४ अर्बले बढेर २ खर्ब ३३ अर्ब, नबिल बैंकको निक्षेप ४ खर्ब ३ अर्बबाट ६६ अर्बले बढेर ४ खर्ब ६९ अर्ब, नेपाल बैंकको २ खर्ब ४५ अर्बबाट ३८ अर्बले बढेर २ खर्ब ८३ अर्ब रुपैयाँ कायम भएको देखिन्छ।