७२ औँ विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’को आयोजना भारतको तेलंगानामा हुने

काठमाडौँ । ७२ औँ विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’को आयोजना भारतको तेलंगानामा हुने भएको छ । वैशाख २१ देखि जेठ १७ सम्म (मे ४ देखि ३१ तारिख)सम्म प्रतियोगिता हुन लागेको हो ।
मिस वर्ल्ड लिमिटेडकी अध्यक्ष तथा सिइओ जुलिया मोर्ले, तेलंगानाकी पर्यटन, संस्कृति, सम्पदा तथा युवा मामिला विभागकी सचिव स्मिता सभरवालले यसको आधिकारिक घोषणा गरे ।
मिस नेपाल आयोजक संस्था ‘द हिडन ट्रेजर’ले पनि यसको आधिकारिक पुष्टि गरेको छ । २८ दिनसम्म चल्ने मिस वर्ल्डमा १२० सुन्दरीले भाग लिनेछन् ।
नेपालबाट मिस नेपाल २०२३ सृच्छा प्रधानले सहभागिता जनाउने पक्का भएको छ । फिनाले मे ३१ (जेठ १७) गते हैदराबादमा आयोजना हुनेछ ।
मिस वर्ल्डको आधिकारिक वेबसाइटले तेलंगानाका विभिन्न स्थानमा प्रतियोगिता हुने जनाएको छ । उद्घाटन र समापन समारोह हैदराबादमा हुनेछ । ७१ औँ मिस वर्ल्ड दिल्ली र मुम्बईमा आयोजना भएको थियो ।