मिस नेपाल अर्थका लागि सुमना केसी फिलिपिन्स प्रस्थान
काठमाडौं । मिस नेपाल अर्थ सुमना केसी फिलिपिन्स प्रस्थान गर्नुभएको छ । मनिलामा अक्टोबर २२ देखि नोभेम्बर १०सम्म आयोजना हुने ‘मिस अर्थ–२०२४’ मा भाग लिन उहाँ सोमबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
केसीलाई जितेको शुभकामना दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजय स्थापितलगायत प्रतिनिधि पुग्नुभएको थियो ।
केसीले मिस अर्थमा प्रस्तुतिका लागि ‘सम्पदा’लाई केन्द्रित गरी थिम बनाउनुभएाको छ । उहाँले प्रतियोगितामा चितवनको दिगो पर्यटन र जलवायु परिवर्तनको विषयलाई समेत प्रस्तुत गर्ने जानकारी गराउनुभयो ।
मिस नेपाल इन्टरनेसनलका लागि करुणा रावत जापान प्रस्थान गर्ने कार्यक्रम छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा द हिँड्न ट्रेजरले राष्ट्रिय झण्डा प्रदान गर्दै जितको शुभकामना सहित उहाँहरूलाई बिदाइ गरेको थियो ।
उक्त अवसरमा यी दुई सुन्दरीले प्रतियोगिताका लागि आफूहरूले गरेको तयारीबारे जानकारी गराएका थिए ।
करुणाले जापानको टोकियोमा अक्टोबर २९ देखि नोभेम्बर १३ सम्म हुने मिस इन्टरनेसनल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।
यसपटक मिस इन्टरनेसनलमा मानसिक स्वास्थ्य सचेतना र दिगोपनको थिम तय रहेको जनाउँदै उहाँले आफूले सोहीअनुसार त्यहाँ प्रस्तुति दिने बताउनुभयो ।
मिस इन्टरनेनसलको लक्ष्य सांस्कृतिक विविधतालाई प्रवद्र्धन गर्नु रहेको भन्दै उहाँले यसपटक नेसनल कस्ट्युम परेड हुने र यसका लागि तयारी गरेको बताउनुभयो ।
द हिँड्न ट्रेजरका अध्यक्ष अजय स्थापितले नेपाललाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा जित दिलाउने तर्फ आवश्यक तयारीका लागि सरकारको सहयोग जरुरी रहेको बताउनुभयो ।
आफूहरूले मिस अर्थ र मिस इन्टरनेसनलमध्ये कुनै एक प्रतियोगिता नेपालमा आयोजना गर्न प्रस्ताव गरेकोमा मन्त्री परिवर्तन भएपछि उक्त कुरा हराएको गुनासो गर्नुभयो ।