पुजार सार्कीमा जोडिए अञ्जना र परीक्षा

काठमाडौं । निर्देशक दिनेश राउतले आफ्नो चलचित्र ‘पूजार सार्की’को मुख्य अभिनेता अभिनेत्रीको चयन पूरा गरेका छन् । यस चलचित्रमा यसअघि तीन अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह भित्रिसकेका छन् ।
यस चलचित्रका दुई अभिनेत्रीमा अञ्जना बराइली र परीक्षा लिम्बु अनुबन्धित भएका छन् । अब एक महिनाको कार्यशालापछि आफूहरू माघेसंक्रान्तिबाट छायांकनमा जाने यस चलचित्रका निर्देशक दिनेश राउतले बताएका छन् ।
‘यसअघि मैले निर्देशन गरेको चलचित्र प्रकाशजस्तै यो चलचित्र पुजार सार्की पनि ग्रामीण भेकमै छायांकन गरिँदै छ । ‘चलचित्र प्रकाशलाई मैले कर्णाली प्रदेशमा छायांकन गरेको थिएँ भने चलचित्र पुजार सार्कीको पनि पश्चिम नेपालको ग्रामीण क्षेत्रमै छायांकन गरिने तयारी हुँदै छ,’ निर्देशक राउतले भने ।
यतिबेला पुजार सार्कीमा अनुबन्धित भएकी अभिनेत्री अञ्जना बराइली सफल चलचित्र महापुरुषकी अभिनेत्री हुन् । यस्तै अभिनेत्री परीक्षा लिम्बुले यसअघि ‘जारी’ र ‘छक्का पञ्जा ४’ जस्ता सफल चलचित्रमा अभिनय गरिसकेकी छन् ।
यसअघिका चलचित्रमा उनीहरूको काम उत्कृष्ट भएकाले नयाँ पुस्ताबाट यी दुई अभिनेत्रीलाई अनुबन्धित गरिएको पनि निर्देशक राउतले बताए ।
चलचित्रलाई संगीतकार सुभाष भुषालले निर्माण गर्दै छन् । यस चलचित्रमा संगीत पनि सुभाषकै रहेको छ । चलचित्र पुजार सार्कीलाई विकास सुवेदीले लेखेका हुन् ।
नेपाली समाजमा जातीयताका आधारमा गरिने विभेदलाई चलचित्रको मुख्य कथाका रूपमा प्रस्तुत गर्न लागिएको लेखक सुवेदीले बताएका छन् । प्रदीप खड्काको अघिल्लो चलचित्र प्रकाश पनि विकासले नै लेखेका हुन् ।