दीपिकालाई ‘मिस युनिभर्स नेपाल२०२३’ को उपाधि
काठमाडौं । शनिवार राति सम्पन्न मिस यूनिभर्स नेपाल–२०२३ को उपाधि जेन दीपिका ग्यारेटले जितेकी छिन् ।
ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा उपाधि विजेता दीपिकालाई अघिल्लो वर्षकी विजेता सोफिया भुजेलले क्राउन लगाइदिएकी थिइन् ।
उपाधिसंगै दीपिकाले आगामी नोभेम्बरमा एल साल्भाडोरमा हुने ७२औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् ।
प्लस साइज आकारकी दीपिकाले सौन्दर्य प्रतियोगिताका लागि चाहिने मापदण्डलाई नै चुनौति दिँदै उपाधि जित्न सफल भएकी हुन् ।
अमेरिकाबाट फर्किएकी उनी अहिले काठमाडौंमा बसोबास गरिरहेकी छिन् । २२ वर्षीया दीपिकाले मानसिक स्वास्थ्य, शरिर सकारात्मकता र हर्मोनल स्वास्थ्यको पक्षमा बोल्दै आएकी छन् ।
प्रतियोगितामा गरिमा घिमिरेले रनर्सअपको तथा बुद्धिसरा सुनारले सेकेण्ड रनर्सअपको उपाधि जिते । प्रतियोगिताको अन्तिम चरणमा दुई विवाहित सुन्दरीहरु पुग्न सफल भएका थिए । उनीहरुमध्ये शिताष्मा पोखरेल थर्ड रनर्सअप तथा अभिलाशा लम्साल फोर्थ रनर्सअप भए ।
प्रतियोगिताको निर्णायकमा सौरभ ज्योति, सुरक्षा पन्त, उपौल मजुमदार, उपासना घिमिरे, आयुष कार्की श्रेष्ठ, रविराज कर्णिकार, संगीता पहाडी तथा नन्दिनी लेही थापा भूमिकामा थिए ।