शिक्षा विधेयकप्रति निजी विद्यालय सञ्चालकले आन्दोलन गर्ने
काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० का प्रावधानमा असहमति जनाउँदै निजी विद्यालय सञ्चालकले आन्दोलन गर्ने भएका छन् ।
मंगलबार प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त पत्रकार सम्मेलन गरेर री विधेयकप्रति असहमति राख्दै आन्दोलन गर्ने भएका हुन् । निजी विद्यालयलाई ५ वर्षभित्र गैरनाफामुलक निजी वा सार्वजनिक शैक्षिक गुठीबाट सञ्चालन गर्ने विधेयकको व्यवस्था संशोधन हुनुपर्ने माग गरेका छन् ।
विधेयक गत साता मन्त्रिपरिषद्बाट पारित भएर संसदमा दर्ता हुने प्रक्रियामा रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
निजी विद्यालय सञ्चालकहरुको छाता संस्थाहरुले मन्त्रिपरिषद्ले नै विधेयक फिर्ता लिनुपर्ने वा उक्त व्यवस्था हटाएर मात्रै संसदमा पेस गर्नुपर्ने माग अघि सारेका हुन् ।
माग पूरा नभए निजी विद्यालय बन्द गर्नेसम्मका आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । प्याब्सनका अध्यक्ष डिके ढुंगाना, एनप्याब्सन अध्यक्ष पाण्डव हमाल र हिसान अध्यक्ष रमेश सिलवालद्वारा जारी विज्ञप्तिमा सरकारले विधेयकमा गरेको व्यवस्था अलोकतान्त्रिक रहेको आरोप लगाइएको छ ।