आध्यन्त फण्ड म्यानेजमेन्टलाई लगानी कोष प्रबन्धकको रुपमा काम गर्न धितोपत्र बोर्डको अनुमति
काठमाडौं । आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडले नेपालमा लगानी कोष प्रबन्धकको रुपमा काम गर्ने इजाजतपत्र प्राप्त गरेको छ ।
नेपाल धितोपत्र बोर्डले ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ अन्तर्गत अध्यान्तलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवद्र्धन गर्न अनुमति दिएको हो ।
आध्यन्तले लगानीकर्ताहरुका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसायहरु र नवीन उद्यमहरुलाई पुँजीमा पहुँच प्रदान गर्ने जानकारी गराएको छ ।
धितोपत्र बोर्डले देखाएको यस नवीनतम तथा रुपान्तरणकारी सोचले निजी पुँजीको परिचालनमार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्ने आध्यन्तका संस्थापक मनोज पौडेलले बताएका छन् ।
आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरुको स्तरवृद्धि गर्न निजी पुँजीलाई उद्देश्यपूर्ण रुपमा परिचालन गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य राखिएको पौडेलले बताए ।
आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवं भेन्चर क्यापिटल कोष सञ्चालक कम्पनी हो । अध्यान्तको मुख्य उद्देश्य उद्यमी र उद्यमहरुका लागि पुँजी परिचालनको नयाँ प्रणालीको सूत्रपात गर्ने रहेको कम्पनीले जानकारी गराएको छ ।
अध्यान्तलाई राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सनराइज बैंक र लक्ष्मी बैंक लगायत संस्थागत लगानीकर्ता र विभिन्न क्षेत्रका विज्ञद्वारा प्रवद्धित गरिएको कम्पनीले जानकारी गराएको छ ।






















