नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै
राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
Nepal Rastra Bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार जेठ ३० गते दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
यो ट्रेजरी २०७९ भदौ २८ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
यो ट्रेजरी २०७९ मंसिर २७ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ११ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २८० जेठ ३० गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।




























