यस वर्ष रेकर्ड बनाउँदै विश्वभर सरकारी ऋणले, ७१६ खर्ब डलर नाघ्ने
काठमाडौं । विश्वव्यापी सरकारी ऋणले सन् २०२२ मा नयाँ रेकर्ड बनाउने एक अध्ययनले देखाएको छ । बेलायती सम्पति व्यवस्थापन कम्पनी जेनस हेन्डरसनले बुधबार सार्वजनिक गरेको ‘सार्वभौम ऋण सूचकांक’ अनुसार विश्वव्यापी सार्वभौम ऋण ९.५ प्रतिशतले बढेर ७१६ खर्ब अमेरिकी डलर पुग्ने अनुमान छ ।
जसमा अधिकांश हिस्सा चीन, जापान र अमेरिकाको रहेको छ । तर अन्य धेरै देशहरुले पनि सापटि वृद्धि गर्दै जाने रिपोर्टमा उल्लेख छ ।
यता, सन् २०२२ मा ब्याज लागतमा पनि उल्लेखनीय वृद्धि हुने भएको छ । ब्याज लागत सन् २०२१ को तुलनामा करिब १४.५ प्रतिशत ले बढेर यस वर्ष ११ खर्ब ६० अर्ब डलर पुग्ने प्रक्षेपण छ । सने २०२१ मा भने ऋण ७. ८प्रतिशत ले बढेर ६५४ खर्ब डलर पुगेपनि ब्याजदर लागत थारै रहेको थियो । गत वर्ष ब्याजको लागत १० खर्ब १० अर्ब डलर मात्र रहेको थियो ।
बढ्दो ब्याजदरको बढी प्रभाव बेलायत तथा जर्मनी जस्ता देशहरुमा पर्ने रिपोर्टमा उल्लेख छ । कोरोना महामारीबाटै बढ्दो क्रममा रहेको सरकारी ऋणलाई युक्रेन युद्धले झन मलजल गरेको छ । युक्रेन युद्धका कारण युरोपेली देशहरुले सुरक्षा योजनाका लागि झन् बढी ऋण लिने देखिएको छ ।























