stcnepal long ad
ime life insurance
national life
global ime bank long

उच्च आर्थिक वृद्धि नभई पुनर्वितरण सम्भव छैनः डा. गुणाकर भट्ट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले मुलुकको गरिबी निवारण र स्रोतको न्यायोचित पुनर्वितरणका लागि उच्च आर्थिक वृद्धि अनिवार्य रहेको बताएका छन् ।

नेपाल आर्थिक संघको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले उच्च आर्थिक वृद्धिदर हासिल नगरेसम्म पुँजी परिचालन र वितरण प्रभावकारी हुन नसक्ने उल्लेख गरे ।

डा. भट्टले सन् २००० यता विश्व अर्थतन्त्रले लगातार झट्का व्यहोर्दै आएको बताए । २००१ को सेप्टेम्बरको घटना, नेपालको राजदरबार हत्याकाण्ड, २००८ को विश्वव्यापी वित्तीय संकट, २०१५ को भूकम्प, कोभिड–१९, रुस–युक्रेन युद्ध र हाल इरान–अमेरिका तनावले नेपालको बजेट र वित्तीय नीति तर्जुमामा चुनौती थपेको उनले सुनाए ।

विश्व अहिले बहुध्रुवीय बन्दै गएको र संरक्षणवाद बढेको भन्दै उनले यस्तो अवस्थामा सानो मुलुकले आफ्नो आर्थिक सुरक्षा र उपस्थिति देखाउनु चुनौतीपूर्ण रहेको बताए ।

बजेटको मुख्य प्राथमिकता प्रविधि आत्मसात्करण रहेको उनले जानकारी दिए । ‘यदि हामीले प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स लाई अगाडि बढाउन सकेनौँ भने पछाडि पर्छौं,’ उनले भने । १० मेगावाट बिजुली निर्यात गर्नुभन्दा प्रविधिको विकासबाट कैयौं गुणा बढी लाभ लिन सकिने उनको दाबी छ । यसले श्रम र पुँजीको क्षमता बढाउने र नयाँ रोजगारी सिर्जना गर्ने उनले बताए ।

वर्तमान बजेटले मध्यम वर्गको विस्तारमा जोड दिएको उनले बताए । निरपेक्ष गरिबीको रेखामुनि रहेका मानिसको शिक्षा, स्वास्थ्य र आम्दानीमा पहुँच बढाएर उनीहरूलाई बचत र लगानी गर्न सक्ने बनाउनु नै मध्यम वर्गको विस्तार भएको उनले प्रस्ट पारे ।

डा. भट्टले पछिल्लो समय सरकारी नियुक्तिहरूमा आर्थिक चलखेल हुने गरेको नसुनिएको दाबी गरे । ‘विगतमा पद खाली हुनासाथ लिलाम बढाबढ हुने युग थियो, अहिले मुलुक त्यो अवस्थाबाट निस्किएको छ,’ उनले भने । उनले स्वार्थको द्वन्द्व सम्बन्धी कानुन बनाएर सुशासन सुनिश्चित गरिने बताए । साथै, मन्त्रालयहरूको संख्या कटौती र चालू खर्चमा गरिएको मितव्ययिताले सकारात्मक नतिजा दिने उनले विश्वास व्यक्त गरे ।

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रालयहरूलाई व्यापक स्वायत्तता दिइएको उनले बताए । अब मन्त्रालयहरूले बजेटको सिलिङभित्र रहेर रकमान्तर गर्न सक्ने, जेठ १६ गतेदेखि नै कार्यक्रम सुरु गर्न पाउने र बहुवर्षीय खरिद प्रक्रियामा आफैं निर्णय गर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए । अर्थ मन्त्रालयमा फाइल रोकिने पुरानो परम्परालाई यसले अन्त्य गर्ने उनले बताए ।

डा. भट्टले आगामी वर्ष ६ देखि ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सकिने र १५ देखि साढे १५ खर्ब राजस्व परिचालन गर्न गाह्रो नहुने बताए । राष्ट्रिय योजना आयोगले बजेटको आकार कुल गार्हस्थ्य उत्पादन को २५ देखि २६ प्रतिशतको वरिपरि राख्ने गरी मध्यमकालीन खर्च संरचना डिजाइन गरिरहेको समेत उनले जानकारी दिए ।

कार्यक्रममा उनले बजेटका चार मुख्य खम्बाका रूपमा सुशासन, डिजिटलाइजेसन, पूर्वाधार विकास र समावेशी वृद्धिलाई चित्रण गरे । अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल नभएमा र आन्तरिक संयन्त्रलाई बलियो बनाएमा तोकिएको लक्ष्य भेटाउन सकिने उनले बताए ।

IME Lifesidebar
kumari