नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न ९० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ९० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज बुधबार असार ४ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ९० अर्ब रुपैयाँ तान्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले ३५ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।
साँवा र ब्याज भुक्तानी मिति साउन ७ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सँस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।