सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साढे ३३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३३ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार (मंसिर ११ गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार मंसिर १० गते दिउँसो २ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस ९ गते परिपक्व हुनेछ । ९१ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी फागुन १३ गते परिपक्व हुनेछ ।
त्यस्तै, १८२ दिनका लागि ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ जेठ १३ गते परिपक्व हुनेछ ।
साथै, १ वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ मंसिर ९ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको(बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।