‘ग्लोबल आइएमई समुन्न योजना–२’ को इकाइमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक तथा ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘ग्लोबल आइएमई समुन्न योजना–२’ आज असार २२ गतेदेखि बिक्रीमा आउँदैछ ।
ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गतको यो योजनाको आकार १ अर्ब २० करोड रूपियाँको छ । जसअनुसार प्रतिइकाइ १० अंकित दरका १२ करोड इकाइ निष्कासन हुनेछ ।
जसमध्ये १८ लाख इकाइ योजना व्यवस्थापक ग्लोबल आइएमई बैंकलाई र कोष प्रवर्द्धक ग्लोबल आइएमई क्यापिटललाई १ करोड ६२ लाख इकाइ सुरक्षित गरिनेछ ।
यसरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री गरिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड २० लाख इकाइसम्म आवेदन दिन पाउनेछन् ।
बन्दमुखी यस योजनाको कुल निष्कासनमध्ये बिक्री अवधिभर न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री हुनुपर्नेछ ।
बिक्री हुन नसकेमा योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गरिनेछ । इकाइ निष्कासन बन्द छिटोमा असार २५ र ढिलोमा साउन ४ गते बन्द हुनेछ ।