प्रभु बैंकका अशोक शेरचन सबैभन्दा बढी तलब र भत्ता लिने सिईओ
काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत( सिईओ) अशोक शेरचन बाणिज्य बैंकहरू मध्ये सबै भन्दा बढी तलब,भत्ता र बोनस रकम लिने सिईओ हुन।
उनले गत वर्षमा ४ करोड ३ लाख २० हजार रुपैयाँ बैंकबाट बुझेका छन् । सिईओ शेरचनले गत आर्थिक वर्ष २०७८/७९ मा तलब भत्ता बापतमात्र ३ करोड ३० लाख रुपैयाँ बुझेका छन् ।
त्यस्तै नियम अनुसार कर्मचारीले पाउने बोनस सुविधा बापत ५६ लाख ९४ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यसैगरि दशैं तथा विदा बापतको भत्ता ४३ लाख २३ हजार रुपैयाँ लिएका छन । यस बाहेक पनि उनले इन्धन र मर्मत सम्भार सहित सवारी साधनको सुविधा पनि पाएका छन् । बैंकको नियम अनुसार दुर्घटना बीमा, औषधोपचार बीमाको व्यवस्था गरिएको छ ।
उनको परिवारका आश्रित सदस्यहरुको समेत औषधोपचार बीमाको व्यवस्था गरिएको छ । नियम अनुसार मोबाइल फोनको भुक्तानी पनि बैंकले नै गर्ने व्यवस्था रहेको छ ।
बैंकले चालु आर्थिक वर्षमा उच्च व्यवस्थापन तहका कर्मचारीहरुलाई तलब भत्ता बापत ३ करोड ७ लाख रुपैयाँ दिएको छ । यसरी तलब भत्ता सहित कर्मचारी बोनस र दशैं भत्ता बापत उनीहरुले ४ करोड १ लाख रुपैयाँ बुझेका छन् ।
यति धेरै तलब भत्ता बुझ्ने सिईओ तथा उच्च व्यवस्थापन तहका कर्मचारी भएको बैंकले शेयरधनीहरुलाई यस वर्ष जम्मा ६.५ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद सहित ८ प्रतिशत लाभांशमात्र दिएको छ । याे बैंकले हिजाे २१ औं वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरेको जनाएकाे छ ।























