एनआइसी एसिया बैंकले ४ कम्पनीको सेयर बिक्री गर्दै
काठमाडौं । आफ्नो स्वामित्वमा भएको ४ कम्पनीको संस्थापक सेयर एनआइसी एसिया बैंकले आज माघ २ गते आइतबारबाट लिलामी बिक्री खुला गरेकोे छ । बैंकले मेरो माइक्रोफाइनान्स, आरएमडीसी लघुवित्त, महुली लघुवित्त र नागरिक लगानी कोषको सेयर सेयर लिलामी बिक्री खुला गरेको हो । यसअघि कैंयौपटक लिलामी बिक्री खुला गर्दा आवेदन नपरेपछि बैंकले फेरि उक्त सेयर लिलामीमा ल्याएको हो ।
बैंकले मेरो माइक्रोफाइनान्सको ८३ हजार ८२९ कित्ता, आरएमडीसी लघुवित्तको ३ लाख ६५ कित्ता, महुली लघुवित्तको ११ हजार २५४ कित्ता र नागरिक लगानीको कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको हो । यी कम्पनीको सेयरमा लगानीकर्ताले माघ ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४८४ रुपैयाँ, आरएमडीसी लघुवित्तको न्यूनतम मूल्य ४९४ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, महुली लघुवित्तको ६४० रुपैयाँ र नागरिक लगानी कोषको न्यूनतम मूल्य ११८३ रुपैयाँ तोकिएको छ ।
शिलबन्दी बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । लगानीकर्ताले एनआइसी एसिया क्यापिटल, बबरमहलमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।






















