मुलुकको चालु खाता घाटा बढेर तीन खर्ब माथि पुग्यो
Nepal Rastra Bank
काठमाडौ । मुलुकको चालु खाता घाटा बढेर तीन खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको वित्तीय तथ्याङ्क अनुसार मुलुकको चालु खाता घाटा तीन खर्ब ६९ करोड रुपैयाँ पुगेको हो ।
यस्तो चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा जम्मा २३ अर्ब रुपैयाँ मात्र थियो । राष्ट्र बैंकका अनुसार यस्तो चालु खाता घाटा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा २ अर्ब ५२ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २.४ प्रतिशतले कमी आई ४ अर्ब ६४ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भई ७ अर्ब ७ करोड पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५० करोड रहेको थियो ।
यस्तै, समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको थियो ।
























