महालक्ष्मी विकास बैंकले साधारण सभा बोलायो
काठमाडौं । गत वर्षका लागि विकास बैंकमध्येको सबैभन्दा बढी र बैंकहरुमध्ये तेश्रो बढी लाभांश वितरणको प्रस्ताव गरेर सेयरधनीलाई सरप्राइज दिएको महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको जनाएको छ ।
गत पुस २ गते बसेको बैंकको संचालक समितिको ५०६ औं बैठकले पुस २५ गते बीसौं वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको सो विकास बैंकले जनाएको छ ।
काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारण सभा हुनेछ ।
वार्षिक साधारण सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७र७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर वितरणको विशेष प्रस्ताव पेश हुनेछ ।
यो प्रस्ताव पारित भएपछि बैंकको चुक्ता पूँजी बढेर ४ अर्ब रुपैयाँ माथि पुग्ने जनाइएको छ । यस्तै वार्षिक साधारण सभामा बोनस सेयरको कर प्रयोजनका लागि १.०५२६ प्रतिशतको दरले नगद लाभांश वितरणको प्रस्ताव पनि पेश हुनेछ ।
संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ साल असार मसान्तको बासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणसहितका अनुसूचीहरु पारित गर्ने प्रस्तावहरु पनि राखिएका छन् ।
साधारण सभामा संचालक समितिको बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता लगायतका अन्य सुविधा वृद्धि गर्ने प्रस्ताव समेत पेश हुने बताइएको छ ।
यस्तै संस्थापक समूह९क०बाट ३ जना र सर्वसाधारण समूह९ख०बाट ३ जना गरी जम्मा ६ जना संचालकको निर्वाचन समेत हुने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । स्वतन्त्र संचालक भने यसअघि नै नियुक्त भइसकेको बैंकले जनाएको छ
बैंकले अन्य बेलाजस्तो अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धमा कुनै पनि प्रस्ताव राखेको छैन । बैंकले यसअघि नै कसैसँग मर्जरमा नजाने, बरु आफैं बलियो बन्दै अगाडि बढ्ने घोषणा गरिसकेको छ ।
























