बैंक अफ काठमाण्डुमा मास्के सिइओे बने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले अनुभवी बैंकरको नेतृत्व प्राप्त गरेको छ । बैंकको आज बुधबार बसेको संचालक समितिको बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा श्रवणलाल मास्केलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैंक बाहिरका केही बैंकरहरुले बीओकेको भावी सीइओको रुपमा अरू नै नाममा चर्चा चलाए पनि संचालक समितिले ३ महिनादेखि संस्थामा कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत मास्केलाई नै रोज्ने निर्णय गरेको छ ।
संचालक समितिको रोजाईमा पर्न सफल मास्केसँग तीन दशक भन्दा बढी लामो बैंकिङ अनुभव रहेको छ ।
मास्केसँग खासगरी बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा विशेष दक्षता रहेको छ । उनमा नेतृत्व क्षमता पनि निकै राम्रो रहेको र उनले कुशल व्यवस्थापकको परिचय समेत बनाएको सो बैंकका कर्मचारीहरू बताउँछन् ।
सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका मास्के बैंक अफ काठमाण्डूको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत काम गरिसकेका बैंकर हुन् । लुम्बिनी बैंकमा समेत उनी सोही पोजिसनमा थिए । बीओकेसँग लुम्बिनी मर्ज भएपछि उनी यता आएका हुन् ।
शोभनदेव पन्तको कार्यकाल सकिएसँगै नेतृत्व छाडेपछि संचालक समितिले मास्केलाई कामु सीइओको जिम्मेवारी दिएको थियो । तीन महिनाको छोटो अवधिमै उनले बैंकको वित्तीय स्वास्थ्य सुधार तथा संस्थागत सुशासनका लागि राम्रा कामहरुको सुरुवात गरेका थिए ।
सीइओको रुपमा नियुक्त भएसँगै मास्केले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डू लिमिटेडलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी सीइओको रुपमा आएपछि बीओके बैंकिङ उद्योगमा तीव्र बनेको प्रतिस्पर्धामा खरो उत्रिने अपेक्षा गरिएको छ ।