राष्ट्र बैंक नेतृत्वविहीन: अहिलेसम्म तोकिएको छैन कार्यवाहक गभर्नर

काठमाडौं । आज आइतबारदेखि नेपाल राष्ट्र बैंक नेतृत्वविहीन बनेको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंक नेतृत्वविहीन बनेको हो ।
अधिकारीले शनिबारदेखि अवकाश पाइसकेका छन् । सरकारले हालसम्म कार्यवाहकको जिम्मेवारी न कसैलाई दिएको छ न नयाँ गभर्नर नियुक्त नै गरेको छ ।
राष्ट्र बैंक ऐन अनुसार सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया १ महिना अगावै गभर्नरको पदमा नियुक्ति गर्नुपर्ने व्यवस्था छ । तथापि, गभर्नरको पद रित्त हुँदासम्म सरकारले नयाँ गभर्नर नियुक्त गरेको छैन । आज रामनवमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
गभर्नर अवकाश भएपछि सरकारले वरिष्ठ डेपुटी गभर्नरलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने ऐनमा व्यवस्था छ । कार्यवाहक अर्थ मन्त्रालयले तोक्ने वा मन्त्रिपरिषद्ले नै तोक्ने भन्ने ऐनमा प्रष्ट प्रावधान भने छैन ।
यता, अर्थ मन्त्रालय स्रोतले भने राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कार्यवाहकको जिम्मेवारी सरकार (मन्त्रिपरिषद्) ले नै तोक्ने जानकारी दिएको छ ।