एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त

काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको फागुन २३ गते बसेको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
घिमिरेलाई आगामी ४ वर्षको लागि बैंकको सीईओको जिम्मेवारी दिइएको हो । यसअघि घिमिरे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)पदमा कार्यरत थिए ।
साथै, बैंकका सीईओ सुनिल केसीको कार्यकाल फागुन मसान्तमा सकिदैछ । उनी दुई कार्यकाल बैंकको सीईओ बनिसके ।
सन् १९९५ बाट तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।
सन् २००९ देखि एनएमबी बैंकमा आवद्ध उनी २०७९ असोज ११ गते डीसीईओमा बढुवा भएका थिए । उनी ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रुपमा चिनिन्छन् ।