एनसीएचएलद्वारा भुक्तानी कारोबार शुल्कमा परिवर्तन
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमीटेडले पूर्ण लकडाउनपछि चैत ११ देखि असार ३१ सम्म कायम विद्युतीय कारोबार निःशुल्क हुने व्यवस्था हटाएको छ ।
एनसिएचएलले आफ्ना सबै भुक्तानी प्रणालीहरुमा साउन १ गतेदेखि कारोबार शुल्क लाग्ने प्रष्ट्याउँदै त्यस्तो शुल्क उल्लेख्य रुपमा घटाइएको हो ।
एनसीएचएलले एक विज्ञप्ति जारी गर्दै एनसिएचएल इसीसी, एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस प्रणालीको कारोबारमा लाग्ने शुल्क घटाइएको बताएको हो ।
एनसीएचएलले श्रावण १, २०७७ देखि लागू गरेको भुक्तानी शुल्क एनसीएचएल इसीसीमा ०.१५, एनसीएचएल आइपीएसमा २.१० र कनेक्ट आइपीएसमा २.१५कायम हुने गरी परिवर्तन गरेको छ ।
त्यसै गरी कनेक्ट आइपीएसमा सदस्य बैंक तथा वित्तीय संस्था एवम् भुक्तानी सेवाप्रदायकले जोड्दै आएका क्रेडिटरहरुलाई लाग्ने शुल्कमा पनि परिवर्तन ल्याई ० दशमलव ७५ प्रतिशत ९न्यूनतम २ र अधिकतम १००० बनाइएको छ । यद्यपि एनसीएचएलको एक्सप्रेस र हाई भ्याल्यु क्लियरिङ्गको शुल्क भने यथावत राखिएको छ ।
एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग एनसीएचएल इसीसी, अन्तरबैंक विद्युतीय भुक्तानी एनसीएचएल आइपीएस, कनेक्ट आइपीएस इपेमेन्ट, कनेक्ट आरटीजिएस र नेशनल पेमेन्ट्स इन्टरफेस एनपीआई लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरेर डिजिटल पेमेन्ट इकोसिस्टममा योगदान पुर्याउँदै आएको छ ।
३१ असार २०७७ सम्म लकडाउनको अन्तरालमा एनसीएचएलद्वारा जम्मा ५४ दशमलव २० लाख कारोबार गरिएको र सो बापत लाग्ने ५ दशमलव २० करोड शुल्क नलिएको हो।
एनसीएचएलले परिवर्तनमा ल्याएको शुल्कहरुले डिजिटल भुक्तानी कारोबार र समग्र अर्थतन्त्रमा नगदको निर्भरता कम गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।
परिवर्तन गरिएको कारोबार शुल्क एनसीएचएलको प्रत्यक्ष तथा अप्रत्यक्ष सदस्यहरु सबैलाई लागू हुने बताइएको छ ।


























