सिटिजन्स बैंकका ग्राहकलाई जोरपाटीस्थित शंखरापुर हस्पिटलमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जोरपाटीस्थित शंखरापुर हस्पिटलमा विशेष छुट पाउने भएका छन् ।
सो छुट सुविधा उपलब्ध गराउन बैंक र हस्पिटलबीच समझदारी भएको छ । समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले शंखरापुर हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
बैंकका ग्राहकहरू लाभान्वित हुनाका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाइहरूबाट १७ लाख ३५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।
हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।