मोबाइल बैंकिङ प्रयोग गर्नेको संख्या सवा २ करोड नाघ्यो, ८ वर्षमा ११३६ प्रतिशतले बढ्यो

काठमाडौं । पछिल्लो ८ वर्षमा बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकको संख्या ११३६५ ले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सन् २०१६ को अगस्टमा मोबाइल बैंकिङ प्रयोगकर्ता संख्या १७ लाख ५४ हजार ५६६ थियो ।
त्यो संख्या सन् २०२३ को अगस्टसम्म आइपुग्दा बढेर २ करोड १६ लाख ९१ हजार पुगेको छ ।सर्वसाधारणसँग स्मार्ट फोनको पहुँच बढेसँगै मोबाइल बैंकिङ प्रयोग गर्नेहरु पनि ह्वात्तै बढेको जानकारहरु बताउँछन् ।
त्यसमाथि हाल नेपालको प्रायः सबै पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच छ । यसबाट बैंक खाता खोल्नेको संख्यासँगै मोबाइल बैंकिङ प्रयोगकर्ता पनि वृद्धि भएका हुन् । सन् २०१८ यता यसका प्रयोगकर्ताहरु ह्वातै बढेको तथ्यांकले देखाएको छ ।
सन् २०१७ मा २६ लाख रहेको ग्राहक संख्या १ वर्ष अवधिमा बढेर ५० लाख नाघेको थियो । सन् २०१९ को अगस्टमा ८३ लाख ४७ हजार मोबाइल बैंकिङ सेवा लिएका थिए । अहिले शहरी क्षेत्रमा प्रायः अधिकांशले पैसाको कारोबार मोबाइल फोनबाट नै गर्ने गर्छन् ।
त्यसैले क्यूआर कोड मार्फत हुने भुक्तानी पनि बढेको छ ।तर, धेरैको २ वा २ भन्दा बढी बैंक खाता पनि रहेको हुन्छ । उनीहरुले उक्त खाताबाट पनि मोबाइल बैंकिङ सेवा लिएका हुन सक्छन् । त्यसैले पनि सो संख्यामा केही वृद्धि देखिएको हो ।
यता, कोभिड–१९ को कारणले पनि यसरी डिजिटल बैंकिङतर्फ सर्वसाधारणको प्रयोग बढेको अनुमान गरिएको छ ।
कोभिडको समय रकमको लेनदेन गर्न मानिसहरुले डिजिटल पेमेन्टको बाटो रोजेका थिए । कोभिड संक्रमण हुन सक्ने त्रासका कारण सकेसम्म कागजी नोटको प्रयोग नगर्ने रणनीति अनुसार नै डिजिटल कारोबारको प्रयोग थप फस्टाएको हो ।
विशेषगरी, कोभिड–१९ का कारण लक डाउन भएको समय मोबाइल बैंकिङ सेवा लिनेको संख्या ह्वातै बढेको थियो । सन् २०२० को अगस्टमा १ करोड १३ लाख रहेको उक्त खाता २०२३ को अगस्टसम्म आइपुग्दा २ करोड नाघेको छ ।
यता, मोबाइल बैकिङसँगै डेबिट र क्रेडिट कार्ड लिनेको संख्या पनि बढेको छ । सन् २०१६ मा ४६ लाख ५७ हजार रहेको डेबिट कार्ड संख्या अहिले बढेर १ करोड २४ लाख पुगेको छ । यो १६६५ ले बढेको हो ।
यता, क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या पनि वृद्धि भएको छ । सन् २०१६ मा ५२ हजार रहेको उक्त संख्या अहिले बढेर २ लाख ८८ हजार पुगेको छ । यो ४५४५ ले बढेको हो । तर पनि क्रेडिट कार्ड लिनेको संख्या तुलनात्मक रुपमा कम हुन्छ ।
२२ असोज २०८०, सोमवार ०६:३८ बजे प्रकाशित