पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न
पोखरा । लक्ष्मी कमर्सियल भेइकल्स प्रालिले पोखरामा आयोजना गरेको एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ। असोज १५ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको क्याम्पमा १०० भन्दा बढी एसएमएल महिन्द्राका व्यावसायिक सवारीसाधन सहभागी भएका थिए।
पोखरालाई केन्द्र बनाएर आयोजना गरिएको क्याम्पमा गोरखालगायत आसपासका क्षेत्रका ग्राहक तथा सवारीसाधनले समेत सहभागिता जनाएका थिए।
ग्राहकलाई नियमित सर्भिसिङप्रति प्रोत्साहित गर्ने, सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्ने, आवश्यक मर्मतसम्भारबारे जानकारी दिने तथा बिक्रीपछिको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ।
क्याम्पमा सहभागी ग्राहकलाई लेवर चार्जमा ५० प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा स्पेयर पार्ट्समा १५ देखि २० प्रतिशतसम्म छुट दिइएको थियो। सहभागी सवारीसाधनको प्राविधिक जाँच गर्नुका साथै ग्राहकका लागि आकर्षक उपहारको समेत व्यवस्था गरिएको थियो।
व्यावसायिक सवारीसाधनमा वातावरणीय प्रभाव न्यूनीकरण, इन्धनको प्रभावकारी उपयोग, सुरक्षा तथा सञ्चालन खर्च व्यवस्थापन महत्वपूर्ण बन्दै गएको अवस्थामा कम्पनीले बीएस६ प्रविधिको महत्वबारे पनि ग्राहकलाई जानकारी गराएको थियो।
बीएस६ उत्सर्जन मापदण्डले सवारीसाधनबाट निस्कने हानिकारक प्रदूषणाको मात्रा घटाउन सहयोग गर्ने भएकाले आधुनिक व्यावसायिक सवारीसाधनमा यसको महत्व बढ्दै गएको कम्पनीको भनाइ छ।
एसएमएल महिन्द्राका नयाँ पुस्ताका सवारीसाधनमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल स्टार्ट असिस्ट, मल्टी–इन्फर्मेसन मिटर क्लस्टर, गियर कोचिङ सिस्टम तथा पावर एन्ड इकोनोमी ड्राइभिङ मोड्सजस्ता प्रविधि उपलब्ध छन्।
यी प्रविधिले सवारीसाधनको नियन्त्रण, उकालोमा सहज सुरुवात, चालकलाई आवश्यक सूचना उपलब्ध गराउने तथा ड्राइभिङ व्यवहार सुधार गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ। यस्ता सुविधाको उपलब्धता भने मोडल तथा भेरियन्टअनुसार फरक हुन सक्छ।
आधुनिक बीएस६ सवारीसाधनमा इन्जिन तथा उत्सर्जन नियन्त्रण प्रणालीको उचित सञ्चालनका लागि नियमित सर्भिसिङ महत्वपूर्ण मानिन्छ।
समयमै लुब्रिकेन्ट परिवर्तन, फिल्टर तथा ब्रेकको जाँच, आवश्यक प्राविधिक निरीक्षण र उपयुक्त स्पेयर पार्ट्सको प्रयोगले सवारीसाधनको कार्यसम्पादन कायम राख्न तथा सम्भावित समस्या समयमै पहिचान गर्न सहयोग पुर्याउँछ।
सर्भिस क्याम्पमार्फत ग्राहकले आफ्ना सवारीसाधनको प्राविधिक अवस्था बुझ्नुका साथै आवश्यक मर्मतसम्भार र नियमित हेरचाहबारे प्राविधिक परामर्श लिने अवसर पाएका थिए। क्याम्पमा १०० भन्दा बढी सवारीसाधन सहभागी हुनुले ग्राहकमा नियमित सर्भिसिङ तथा प्राविधिक मर्मतसम्भारप्रति चासो रहेको देखिएको कम्पनीको विश्वास छ।
पोखरा र गोरखालगायत आसपासका क्षेत्रबाट ग्राहकको सहभागिताले एसएमएल महिन्द्राका ग्राहकसँग प्रत्यक्ष सम्पर्क तथा बिक्रीपछिको सेवाको पहुँचलाई थप बलियो बनाउन सहयोग गरेको कम्पनीले जनाएको छ।
लक्ष्मी कमर्सियल भेइकल्स प्रालि नेपालमा एसएमएल महिन्द्राका व्यावसायिक सवारीसाधनको एकमात्र वितरक हो। कम्पनीले बस, ट्रक तथा अन्य व्यावसायिक सवारीसाधनको बिक्रीसँगै सर्भिसिङ, स्पेयर पार्ट्स र प्राविधिक सहयोगमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।
पोखरामा सम्पन्न सर्भिस क्याम्पले नियमित मर्मतसम्भार, आधुनिक बीएस६ प्रविधिको उचित प्रयोग तथा प्रभावकारी बिक्रीपछिको सेवाको महत्वबारे ग्राहकमा सचेतना बढाउनुका साथै कम्पनी र ग्राहकबीचको सम्बन्ध थप सुदृढ गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ।





















