नयाँ ब्रान्ड ‘चुफेङ’को नेपाल प्रवेश, एम३१ए इलेक्ट्रिक मिनी पिकअप आउँदै
काठमाडौं । नेपालको अटोमोबाइल बजारमा व्यावसायिक तथा विद्युतीय सवारीसाधनको माग तीव्र रूपमा बढिरहेका बेला लाइफ म्याटर्स अटोमोटिभ्स प्रालिले नयाँ विद्युतीय मिनी पिकअप ‘चुफेङ एम३१ए’ नेपाल भित्र्याउने भएको छ ।
सामान ओसारपसार, खुद्रा व्यापार तथा सहरी र अन्तर–सहरी क्षेत्रको ढुवानीलाई थप सहज, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यका साथ यो पिकअप नेपाली बजारमा ल्याउन लागिएको हो ।
चुफेङ ‘एम३१ए’ उत्पादन गर्ने कम्पनीको पृष्ठभूमि हरित तथा आधुनिक प्रविधिसँग जोडिएको छ । चीनको अग्रणी अटोमोबाइल उत्पादक हुबेई सिन्चुफेङ मोटर भेइकल कम्पनी लिमिटेडले यसको उत्पादन तथा प्राविधिक विकासमा भूमिका खेलेको छ ।
सन् २००७ को मार्चमा १.०५ अर्ब युआनको दर्ता पुँजीसहित स्थापना भएको हुबेई सिन्चुफेङ सन् २०२२ मा ‘ग्वाङझाउ हाइबोट ग्रुप’ अन्तर्गत पुनर्संरचना भएको हो । यस समूहमा सिङहुवा इन्डस्ट्रियल रिसर्च इन्स्टिच्युट र ग्वाङडोङ राज्य-स्वामित्वको सम्पत्ति सुपरिवेक्षण तथा प्रशासन आयोग जस्ता प्रतिष्ठित संस्थाहरूको लगानी रहेको छ ।
क्यानडा, बेइजिङ, ग्वाङझाउ, वुहान र सुइझोउमा आफ्ना आधारहरू रहेको यस समूहले वार्षिक ५० हजार भन्दा बढी विद्युतीय तथा हाइड्रोजन ऊर्जाबाट चल्ने व्यावसायिक सवारीसाधन उत्पादन गर्दै आएको छ । यही विश्वस्तरीय प्रविधि र विश्वसनीयताका साथ लाइफ म्याटर्स अटोमोटिभ्सले यस पिकअपलाई नेपाली बजारमा प्रस्तुत गर्न लागेको हो ।
शक्तिशाली ब्याट्री, मोटर र २८० किमी रेन्ज
नेपाली बाटो र व्यावसायिक आवश्यकतालाई ध्यानमा राखेर ल्याउन लागिएको चुफेङ एम३१ए को प्राविधिक क्षमता निकै बलियो रहेको छ । यसमा ४१.९९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा २८० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । साथै, यसमा ३५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर राखिएको छ, जसले ७० किलोवाट सम्मको पिक पावर र ९० एनएम रेटेड टर्क तथा २३० एनएमसम्मको पिक टर्क जेनेरेट गर्दछ । यस पिकअपलाई ९० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ । यसको पावर र रेन्जले दैनिक व्यावसायिक ओसारपसारलाई बिना कुनै झन्झट सहज बनाउनेछ ।
मजबुत बनावट र उत्कृष्ट भारवहन क्षमता
व्यावसायिक ढुवानीलाई थप प्रभावकारी बनाउन यो पिकअपलाई ४९६० एमएम लम्बाई, १६३६ एमएम चौडाई, २००० एमएम उचाई र ३००० एमएम ह्विलबेसको फराकिलो तथा मजबुत डाइमेन्सनमा तयार पारिएको छ ।
१५२० किलोग्राम कर्व वेट रहेको यस पिकअपको मुख्य आकर्षण भनेकै यसको उच्च भारवहन क्षमता हो । आफ्नो वर्गमा १४६० किलोग्रामसम्मको ठूलो भार सहजै बोक्न सक्ने क्षमता भएकाले यसले व्यवसायीहरूको समय र लागत दुवै बचत गर्नेछ ।
नेपाली सडक अनुकूल उच्च ग्राउन्ड क्लियरेन्स
नेपालका उकालो-ओरालो, खाडल र कच्ची बाटोहरूलाई सहजै पार गर्नका लागि चुफेङ एम३१ए मा २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसले गर्दा उकालो र असमान सडकहरूमा पनि गाडीको तल्लो भाग ठोकिने जोखिम रहँदैन । लाइफ म्याटर्स अटोमोटिभ्स प्रालिले यस मोडलको बिक्री–वितरणसँगै चुस्त बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको उपलब्धतालाई समेत प्राथमिकतामा राखेर आवश्यक तयारी अघि बढाएको जनाएको छ ।





















