citizens life insurance long ad
stcnepal long ad

खाद्य व्यवस्था तथा व्यापार कम्पनी पाँचौँ वर्षमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । तत्कालीन नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ कम्पनीलाई गाभेर सरकारले यो कम्पनी स्थापना गरिएको थियो ।

उक्त कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले खाद्यान्न लगायत अत्यावश्यकीय उपभोग्य वस्तुको सहज आपूर्तिका लागि बजार निर्माताको भूमिका निर्वाह गर्न सक्ने एक सक्षम व्यावसायिक संस्थाका रूपमा स्थापित हुनुपर्ने बताउनुभयो । मुलुकको खाद्य  सुरक्षा र सम्प्रभुताका लागि कम्पनीको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।

“खाद्य सम्प्रभुता र खाद्य सुरक्षाको प्रत्याभूत हुने गरी बजारमा खाद्यवस्तुको मूल्य वृद्धि नियन्त्रण, मूल्य स्थिरता कायम, आफ्नो सेवा र व्यापार विविधीकरण, आर्थिक अनुशासन कायम तथा नवीन व्यावसायिक कार्ययोजनाको कार्यान्वयनबाट व्यावसायिक संस्कार विकास गरी किसान, उपभोक्ता तथा ग्राहकलाई उच्चतम सन्तुष्टि दिने तर्फ कम्पनी केन्द्रित हुनु पर्छ,” मन्त्री रिजालले भन्नुभयो । यसका लागि कम्पनीले दीर्घकालीन व्यावसायिक योजना र वार्षिक कार्ययोजना बनाई सोही अनुसार आफ्ना क्रियाकलाप सञ्चालन गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

उक्त कम्पनीका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले कम्पनीसँग पर्याप्त भौतिक पूर्वाधार तथा स्रोतसाधन उपलब्ध रहेर पनि सो अनुसार व्यावसायिक लाभ हासिल गर्न नसकेको बताउनुभयो ।

“निजी क्षेत्रले सानो लगानीबाट पनि राम्रो आम्दानी गर्छन् तर खाद्य व्यवस्था कम्पनीसँग यति धेरै जग्गाजमिन, पूर्वाधार, जनशक्ति उपलब्ध हुँदा पनि अपेक्षित नतिजा देखिन सकेको छैन,” उहाँले भन्नुभयो, “रोकिएका वार्षिक लेखा परीक्षण र साधारण सभाका कामसमेत तत्काल अगाडि बढाउनूस् ।”

खाद्य व्यवस्था कम्पनीले न्यूनतम खाद्य सुरक्षा कायम हुने गरी खाद्यान्न सामग्री मौज्दात राख्न नसकेको भन्दै सचिव मरासिनीले यस वर्षका लागि आवश्यक धान, चामललगायत खाद्यान्न खरिदको प्रबन्ध मिलाउन निर्देशनसमेत दिनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले देशका हरेक क्षेत्रका जनतामाझ आफ्नो वस्तु तथा सेवाको पहुँच पु¥याउन कम्पनी प्रयत्नशील रहेको बताउनुभयो । कम्पनीले स्थापनाको छोटो समयमै व्यापार विविधीकरण, रैथाने उत्पादन खरिद बिक्री लगायत महत्वपूर्ण काम गरेको उहाँको भनाइ थियो ।

सरकारी स्वामित्वको यस कम्पनीले दुर्गम जिल्लामा खाद्यान्न आपूर्ति गर्ने, उत्पादक किसानलाई उत्पादनको उचित मूल्य प्रदान गर्ने, नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने, सहरी क्षेत्रमा समेत मूल्य स्थिरीकरणका लागि वस्तु तथा सेवा उपलब्ध गराउने, खाद्य सुरक्षाका लागि तोकिएको परिमाणमा खाद्यवस्तु भण्डारण गर्ने र कम्पनीलाई दिगो रूपमा सक्षम बनाउन व्यावसायिक क्रियाकलाप विस्तार गर्ने जस्ता महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आइरहेको छ । उक्त कम्पनीले अनलाइन पोर्टल मार्फत काठमाडौँ उपत्यकामा विभिन्न खाद्यान्न सामग्री होम डेलिभरीसमेत गर्दै आएको छ ।

IME Life
kumari