‘पावर समिट २०२३’ आज सकिँदै
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले हिजोबाट सुरु गरेको ‘पावर समिट २०२३’ आज सकिँदै छ । ‘हरित ऊर्जाको बजार विस्तारिकरण’का लागि सुरु भएको सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो उद्घाटन गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्र मुलुकको समृद्धिको बलियो आधार भएकाले यसमा थप लगानी जुटाउनुपर्नेमा जोड दिएका थिए ।
मंगलबारदेखि काठमाडौंमा सुरु ‘पावर समिट २०२३’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नीतिगत एवम् व्यावहारिक रूपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रूपमा मान्यता दिएको बताएका थिए ।
उनले मुलुकलाई आर्थिक रूपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक रहेको धारणा राखेका थिए ।
सुक्खा मौसममा पनि बिजुलीको आयात गर्नु नपर्ने गरी निजी क्षेत्रसँगको सहकार्यमा जलविद्युत् आयोजनालाई अघि बढाउन सरकार तयार रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले देशका सबै नागरिकलाई बिजुली उपलब्ध गराउने लक्ष्यका साथ ग्रीड विस्तार र अफ ग्रीड प्रविधिमा लगानी विस्तार गर्दै स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्ने प्रयास भइरहेको उल्लेख गरेका थिए ।
समिटको संरक्षक ऊर्जा मन्त्रालय र सहआयोजकमा लगानी बोर्ड रहेका छन् । सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका विशिष्ट व्यक्ति र दक्षिण एसियाली नेताहरूको उपस्थिति रहेको छ। इपानले पावर समिट नेपालको ऊर्जा क्षेत्रको बजार विस्तारमा कोसेढुंगा सावित हुने अपेक्षा गरेको छ ।
ऊर्जा समिटमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू लगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी छन् ।
सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता ९पीपीए०, नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि सम्झौता गरिनेछ ।
सम्मेलनमा नेपालको विद्युत् बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशिय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूल विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्रहरू सञ्चालन गरिनेछ ।























