stcnepal long ad
ime life insurance
national life
global ime bank long

विकास सहायता कार्यक्रमका लागि २०४ वटा प्रस्ताव

हरेक वडालाई एउटा सीपमूलक उत्पादनको पहिचानसँग जोड्ने काम गरौँ — कार्यवाहक प्रमुख डंगोल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका लागि २ सय ४ वटा प्रस्ताव पेश भएका छन् । ४ करोड ४५ लाख रुपैयाँका कार्यक्रमका लागि प्रस्ताव आव्हान गर्दै मंसिर १ गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । सूचनाका आधारमा १० वटा क्षेत्रगत कार्यक्रमका लागि यी प्रस्ताव पेश भएका हुन् ।

आज सामाजिक विकास समितिको बैठकमा यस सम्बन्धी छलफल गर्दै वडा २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सूचक निर्धारण तथा छनौट समिति गठन गरिएको छ ।

समितिको सदस्यमा कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गी हुनुहुन्छ । समितिमा वित्त विभागबाट प्रतिनिधि रहनुहुनेछ भने र सामाजिक विकास विभाग प्रमुख सदस्य सचिव रहनु हुनेछ ।

बैठकमा महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्दा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र हरेक वडालाई एउटा सीप तथा उत्पादनसँग जोडेर पहिचान बढाउने कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनुभयो ।

‘प्राप्त भएका प्रस्तावहरुमा रीत पुगे नपुगेको हेरौँ । भूगोल र सामाजिक क्षेत्रका कामको सन्तुलन हेरौँ । यदि हाम्रो आवश्यकता पूरा नहुने देखियो भने थप सूचनामार्फत छुटेका क्षेत्रलाई सहभागी गराऔँ ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, गैरसरकारी संस्थाहरुले सञ्चालन गर्ने क्रियाकलाप जुन वडामा सञ्चालन हुने हो त्यो वडासँग समन्वय हुनुपर्ने धारणा राख्नुभयो ।

‘क्रियाकलाप सञ्चालनको अनुगमन भएपछि मात्र पूरा भुक्तानी हुनुपर्ने, हरेक क्षेत्रको कार्यक्रमका लागि फोकल पर्सन तोकेर काम गर्नुपर्ने आवश्यकता देखिएको छ । सामाजिक विकास विभागले कार्यक्रम सञ्चालन गर्दा यसतर्फ ध्यान दिनुपर्छ ।’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाय छ ।

महानगरपालिका कार्य क्षेत्र भएका गैर सरकारी संघ संस्थाले गर्ने क्षेत्रगत कामलाई संस्थागत र व्यवस्थित बनाउन काठमाडौँ महानगरपालिकाले गएको मंसिर १ गते सार्वजनिक सूचना मार्फत प्रस्ताव आव्हान गरेको थियो ।

अर्थ मन्त्रालयको खर्च मापदण्ड र महानगरपालिकाको स्वीकृत खर्च शीर्षकबाट काम गर्नका लागि प्रस्तावक गैर सरकारी संघ संस्थाहरुको समेत लागत सहभागिता रहने गरी कार्यक्रम सञ्चालन गर्न खुल्ला प्रस्ताव आव्हान गरिएको हो ।

‘विकास सहायता कार्यविधि २०७९ को व्यवस्था बमोजिम ५ लाख रुपैयाँ भित्र काम गर्ने आव्हान गरिएको सूचनाबाट केही क्षेत्रमा अपुग र केही क्षेत्रमा दोहोरिएर धेरै प्रस्ताव पेश भएका छन् ।’ बैठकमा सामाजिक समितिका संयोजक एवं वडा १० का अध्यक्ष रामकुमार के. सी. ले भन्नुभयो, अब परिणाम देखिने गरी काम गर्ने बेला भएको छ ।

समस्या र आवश्यकताको सन्तुलन हुने गरी कार्यक्रम छानेर गुणस्तरीय काम गरौँ ।’ त्यस क्रममा वडा २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले, दिगो हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।

‘एउटा तालिम दिएर छोडेपछि यता न उताको हुन्छ । लक्षित बर्गलाई सक्षम बनाएर मात्र काम अन्त्य हुने गरी कार्यक्रम चलाऔँ ।’ श्रेष्ठको भनाइ थियो ।

‘विनियोजित रकम खर्च नहुने हुनु हुँदैन । त्यसको अर्थ नतिजा नआउने ठाउँका कार्यक्तम छनौट गरेर पनि हुँदैन । नतिजामा हाम्रो दृष्टि हुनुपर्छ ।’ बैठकमा कार्यपालिका सदस्य महेश नेपालीले धारणा राख्नुभयो ।

संस्थाको भौतिक संरचना, जनशक्ति, प्रस्तावित काममा अनुभव र विज्ञता तथा लागत सहभागिताका आधारमा प्रस्ताव स्वीकृत हुने सूचनामा उल्लेख छ । सूचनामा उल्लेख भएको विषयलाई आधार मानेर सूचक निर्धारण तथा छनौट समितिले काम गर्नेछ ।

महानगरले सूचनामा उल्लेख गरेको पहिलो कार्यक्रम ‘नमूना छात्रा सांसद कार्यक्रम’ हो । यो कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजित छ । १ करोड रुपैयाँ विनियोजन भएको ‘खेलकुदसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुलाई कार्यक्रम सहयोग’ मा २६ वटा प्रस्ताव आएका छन् ।

‘लागू औषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैङ्गिक हिँसा विरुद्धको अभियान लगायत सचेतनामूलक कार्यक्रम’ का लागि २५ लाख रुपैयाँ विनियोजित छ ।

यस क्षेत्रका लागि ६३ वटा प्रस्ताव पेश भएका छन् । २० लाख रुपैयाँ विनियोजित ‘अपाङ्गताको क्षेत्रमा कार्य गर्ने संस्थाहरुसँग सहकार्य’ कार्यक्रममा १३ वटा प्रस्ताव परेका छन् ।

‘विभिन्न स्रष्टाहरुको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षय कोष अनुदान’ शीर्षकमा २० लाख रुपैयाँ विनियोजित छ ।

यस क्षेत्रका लागि ३ वटा प्रस्ताव पेश भएका छन् । ४० लाख रुपैयाँ विनियोजित ‘ज्येष्ठ नागरिक मिलन केन्द्रहरुको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन’ कार्यक्रमका लागि कुनै पनि प्रस्ताव पेश भएको छैन ।

‘अटिजम, डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रमका लागि विभिन्न संघ संस्थाहरुलाई सहयोग’ कार्यक्रमका लागि ६ वटा संघ संस्थाको प्रस्ताव परेको छ । यस शीर्षकमा ६० लाख रुपैयाँ विनियोजित छ ।

१ करोड रुपैयाँ विनियोजित ‘विभिन्न संघ संस्था, फाउन्डेसन, प्रतिष्ठान, एकेडेमीलाई कार्यक्रम सहयोग’ शीर्षकमा ८१ वटा प्रस्ताव परेका छन् । यस्तै २० लाख रुपैयाँ विनियोजित ‘अपाङ्ग लक्षित खेलकुद कार्यक्रम’ का लागि ४ वटा प्रस्ताव पेश भएका छन् ।

‘दलित लक्षित कार्यक्रम सञ्चालन एवं सहयोग कार्यक्रम’ मा ७ वटा प्रस्ताव पेश भएका छन् । यस शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

आज गठन भएको समितिलाई कार्यक्रमको प्रकृति, लक्षित बर्ग, भौगोलिक अवस्था, क्षेत्रजस्ता सूचकका आधारमा दोहोरिएका कार्यक्रम घटाउने तथा नपुग भएका क्षेत्रलाई प्रवर्धन गर्ने गरी काम गर्न गरी जिम्मेवारी तोकिएको छ । समितिले नगर सभामा लैजान विकास सहायता कार्यक्रम संशोधनको प्रस्ताव तयार गर्नेछ ।

‘यी कार्यक्रमहरु समाज परिचालनका विधि हुन् । प्रभावकारी कार्यान्वयनबाट सामाजिक व्यवस्थालाई जीबन्त बनाउँदै लैजानु पर्छ ।’

कार्यक्रमका विषयमा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल भन्नुहुन्छ, ‘समाजका सबै अङ्ग परिचालन गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।’

 

 

 

IME Lifesidebar
kumari