citizens life insurance long ad
stcnepal long ad

विश्वसनीयताको मानक डिजिटल कारोबार : गभर्नर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आज आयोजित एक कार्यक्रमकाबीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न कार्यक्रमको सुरुआत गरिएको जानकारी दिनुभयो ।

“क्युआर कोडबाट मात्र मासिक ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ । यो आफैँमा उत्साहजनक अवस्था हो । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नका निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुआत हामीले गरेका हौँ”, उहाँले भन्नुभयो ।

डिजिटल कारोबारलाई ‘पारदर्शीताको मेरुदण्ड’को सङ्ज्ञा दिँदै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा समेत टेवा पुग्ने धारणा राख्नुभयो ।

सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासका निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । डिजिटल कारोबारमा आउनसक्ने जोखिमप्रति सचेत रहनसमेत उहाँले सबैलाई अनुरोध गर्नुभयो ।

उक्त अवसरमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै डिजिटल वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पार्नुभयो । साथै नेपालमा विद्युतीय भुक्तानी कारोबारको वर्तमान अवस्था र सूचकका बारेमा समेत उहाँले जानकारी दिनुभयो ।

गभर्नरको कार्यालयका निर्देशक अजित रेग्मीले एक कार्यपत्र प्रस्तुत गर्दै डिजिटल वित्तीय साक्षरताको सान्दर्भिकता, यसका आधारभूत पक्ष, नेपालमा उपलब्ध डिजिटल वित्तीय सेवा, यसको फाइदा, कारोबारमा  अपनाउनुपर्ने  सावधानी लगायतका विविध पक्षबारे जानकारी दिनुभयो ।

विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा यस सम्बन्धी नीतिगत व्यवस्थालाई अवलम्बन गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा चालु आर्थिक वर्षलाई ‘विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्ष’का रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिनेसमेत उल्लेख गरिएको छ ।

यसैबीच, गभर्नर अधिकारीले आजै बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य सङ्घ र कृषि ज्ञानकेन्द्र, दार्चुलाका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गरी विविध विषयमा छलफल गर्नुभएको छ ।

सोही क्रममा उहाँले सुदूरपश्चिम प्रदेशस्थित वाणिज्य बैंकका प्रदेश प्रमुख र दार्चुलास्थित बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखसँग यस क्षेत्रको वित्तीय कारोबारको अवस्थाबारे प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

यसैगरी, उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको छलफलमा उहाँले दार्चुला जिल्लाको उद्यमरव्यवसाय, भारु कारोबार र बैंक तथा वित्तीय संस्थाको सेवाबारे जिज्ञासा राख्नुभयो ।

कृषि ज्ञान केन्द्रका प्रतिनिधिसँगको छलफलमा गभर्नर अधिकारीले दार्चुला जिल्लामा व्यावसायिक कृषिको विद्यमान अवस्था, सम्भावना, कृषि कर्जा तथा ब्याज अनुदान र कृषि क्षेत्र प्रवर्द्धनका भावी सम्भावनाका विषयमा जानकारी लिनुभएको थियो ।

IME Life
kumari