stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुन खरिद बढाउँदै विश्वभरका केन्द्रीय बैंक, सञ्चिति ४८ वर्षयताकै उच्च विन्दुमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वभरका प्रमुख केन्द्रीय बैंकहरुले सुन खरिद गर्ने क्रमलाई सन् २०२२ को चौथो त्रैमासमा थप तिब्रता दिएका छन् ।

तेस्रो त्रैमासमा आफ्नो रिजर्भमा ऐतिहासिक रुपमा उच्च मात्रामा सुन थपेका केन्द्रीय बैंकहरुले चौथो त्रैमासमा पनि खरिद बढाएका हुन् ।

‘वर्ल्ड गोल्ड काउन्सिल’ को तथ्यांक अनुसार अक्टोबर महिनामा विश्वभरका केन्द्रीय बैंकहरुले आफ्नो आधिकारिक भण्डारमा ३१ टन सुन थपेका छन् । यससँगै, केन्द्रीय बैंकहरुको कुल सुन होल्डिङ हाल ४८ वर्ष अर्थात सन् १९७४ यताकै उच्च विन्दुमा पुगेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को केन्द्रीय बैंक अक्टोबरमा सबैभन्दा ठूलो सुन खरिदकर्ता रहेको थियो । युएईले अक्टोबर महिनामा मात्रै ९ टन भन्दा बढी सुन खरिद गरेको थियो ।

यस वर्ष हालसम्म युएईले कुल १८ टन सुन सञ्चितिमा थपेको छ । यता, टर्कीले पनि अक्टोबर महिनामा करिब ९ टन सुन रिजर्भमा थपेकोे थियो ।

सन् २०२२ सुरु भएयता मात्रै टर्कीले १०३ टन सुन आफ्नो रिजर्भमा थप गरेको छ । जुन अन्य सबै देशहरुको भन्दा धेरै हो ।

यता, भारतले पनि विगत केही महिनायता सुन खरिद बढाएर सञ्चितिमा ७८१ टन पुर्याएको छ । सन् २०१७ यता भारतले २०० टन सुन आफ्नो सञ्चितिमा थप गरेको हो ।

गोल्ड काउन्सिलका अनुसार विश्वभरका केन्द्रीय बैंकहरुले सन् २०२२ को तेस्रो त्रैमासमा झन्डै ४०० टन सुन रिजर्भमा थपेका छन् ।

जुन सन् २०२१ को सोही अवधिको भन्दा ३०० प्रतिशत धेरै हो । विश्वका प्रमुख केन्द्रीय बैंकहरु लगातार बाह्रौं वर्ष सुनको नेट खरिदकर्ताका रुपमा देखिएका छन् । उक्त अवधिमा केन्द्रीय बैंकहरुले ५ हजार ६९२ टन सुन खरिद गरेका छन् ।

prabhu mahalaxmi
kumari